

काठमाडौं ।
अर्बपति इलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता स्टार्टअप एक्सएआई ले पूर्वाधार विस्तारका लागि तेस्रो भवन खरिद गरेको बताएका छन्। यस कदमसँगै कम्पनीले एआई मोडेल प्रशिक्षणका लागि प्रयोग हुने कम्प्युटिङ क्षमता करिब २ गिगावाटसम्म पुर्याउने लक्ष्य लिएको मस्कले मंगलबार बताएका छन्।
नयाँ विस्तारले ओपनएआई को च्याटजीपीटी र एन्थ्रोपिकको क्लाउडजस्ता उद्योगका अग्रणी एआई मोडेलसँग अझ प्रभावकारी रूपमा प्रतिस्पर्धा गर्ने एक्सएआई को महत्वाकांक्षी योजनालाई उजागर गर्छ।
रोयटर्सका अनुसार टेनेसी राज्यको मेम्फिसमा रहेको एक्सएआई को सुपरकम्प्युटर क्लस्टर ‘कोलोसस’ लाई विश्वकै सबैभन्दा ठूलो सुपरकम्प्युटरमध्ये एक मानिन्छ।
“एक्सएआई ले ‘म्याक्रोहार्डआरआर’ नामक तेस्रो भवन खरिद गरेको छ,” मस्कले सामाजिक सञ्जाल एक्समा लेखेका छन्। उनले भवनको स्थान भने खुलाएका छैनन्। उक्त नाम माइक्रोसफ्टको नामसँग मिल्दोजुल्दो शब्दको खेल हुन सक्ने अनुमान गरिएको छ।
यस विषयमा यसअघि समाचार प्रकाशित गरेको द इन्फर्मेसनले सम्पत्ति अभिलेख र परियोजनासँग परिचित एक व्यक्तिलाई उद्धृत गर्दै तेस्रो विशाल डाटा सेन्टर मेम्फिस बाहिर निर्माण गर्ने योजना रहेको जनाएको छ।
एक्सएआई ले आफ्नो सुपरकम्प्युटर ‘कोलोसस’ विस्तार गरी कम्तीमा १० लाख ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) राख्ने योजना बनाएको छ।
कम्पनीले हालै खरिद गरेको गोदामलाई सन् २०२६ देखि डाटा सेन्टरमा रूपान्तरण गर्ने तयारी गरिरहेको द इन्फर्मेसनले उल्लेख गरेको छ। उक्त नयाँ डाटा सेन्टर र ‘कोलोसस २’ दुवै एक्सएआई ले निर्माण गरिरहेको प्राकृतिक ग्यासमा आधारित विद्युत् केन्द्र नजिकै रहनेछन्। यस क्षेत्रमा अन्य ऊर्जा स्रोतसमेत उपलब्ध हुने बताइएको छ।
तर एआई पूर्वाधारको तीव्र विस्तारले वातावरणविद्हरूको आलोचना पनि खेप्दै आएको छ। डाटा सेन्टरहरूले अत्यधिक ऊर्जा खपत गर्ने भएकाले वातावरणमा नकारात्मक असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ। यस विषयमा प्रतिक्रिया माग्दा एक्सएआई ले रोयटर्सको अनुरोधमा तत्काल कुनै जवाफ दिएको छैन।
प्रकाशित: १६ पुष २०८२, बुधबार