

काठमाडौं ।
चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बुधबार दुई नयाँ स्याटेलाइट सफलतापूर्वक कक्षमा पठाएको छ। ‘शिजियान–२९ए’ र ‘शिजियान–२९बी’ नामका स्याटेलाइटहरू बिहान ६ः४० बजे (बेइजिङ समय) लङ मार्च–७ए वाहक रकेटमार्फत प्रक्षेपण गरिएका हुन् । प्रक्षेपणपछि दुवै उपग्रह तोकिएको कक्षमा सफलतापूर्वक प्रवेश गरेका छन्।
शिजियान–२९ए र शिजियान–२९बी चीनद्वारा प्रक्षेपण गरिएका प्रायोगिक (टेस्ट) स्याटेलाइटहरू हुन्, जसको मुख्य उद्देश्य अन्तरिक्ष लक्ष्य पहिचान र अनुगमनसँग सम्बन्धित नयाँ प्रविधिहरूको परीक्षण तथा प्रमाणीकरण गर्नु हो।
यी स्याटेलाइटहरू लङ मार्च–७ए रकेटमार्फत वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट कक्षामा पठाइएका हुन् र भविष्यका उन्नत अन्तरिक्ष प्रणाली विकासका लागि प्रविधिक डाटा सङ्कलनमा प्रयोग गरिन्छ।
यी परीक्षणबाट प्राप्त अनुभव र डाटाले भविष्यका निगरानी, अन्तरिक्ष सुरक्षा, कक्ष व्यवस्थापन र उन्नत अन्तरिक्ष प्रणाली विकासमा महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ । यी स्याटेलाइटहरू मुख्यतः अन्तरिक्ष लक्ष्य पहिचानसँग सम्बन्धित नयाँ प्रविधिको परीक्षणका लागि प्रयोग गरिने बताइएको छ ।
यस प्रक्षेपणसँगै लङ मार्च शृंखलाका वाहक रकेटहरूको कुल उडान सङ्ख्या ६२३ पुगेको छ।-रासस/सिन्ह्वा
प्रकाशित: १६ पुष २०८२, बुधबार