
काठमाडौं ।
इरानले कृषि तथा वातावरणीय अध्ययनका लागि स्वदेशमै निर्माण गरिएका तीन उपग्रहलाई रुसबाट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ।
यस प्रक्षेपणले इरानको अन्तरिक्ष कार्यक्रम विस्तार हुँदै गएको सङ्केत दिएको छ । ‘पायाँ’ उपग्रह हालसम्मकै सबैभन्दा उन्नत स्वदेशी उपग्रह मानिन्छ, जसले जलस्रोत व्यवस्थापन, वातावरणीय अनुगमन तथा भू–नक्साङ्कनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
‘जफर–२’ उपग्रह प्राकृतिक स्रोत, कृषि र विपद् व्यवस्थापनका लागि उपयोगी उच्चस्तरीय तस्बिर उपलब्ध गराउन सक्षम छ। ‘कोसर–१’ उपग्रहले पनि पृथ्वीको अवलोकन गरी कृषि, जलस्रोत तथा भूभाग अनुगमनमा महत्वपूर्ण योगदान दिने जनाइएको छ।
इरानी अधिकारीहरूले उपग्रह कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण र नागरिक प्रयोजनका लागि मात्र सञ्चालन गरिएको स्पष्ट पारेका छन्।-रासस/सिन्ह्वा
प्रकाशित: १५ पुष २०८२, मंगलवार