प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आचारसंहिता २०८२ स्वीकृत, एआईको प्रयोगलाई समेत नियमन गरिँदै

  • Technology Khabar | १४ पुष २०८२, सोमबार
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आचारसंहिता २०८२ स्वीकृत, एआईको प्रयोगलाई समेत नियमन गरिँदै

काठमाडौं ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी, भयमुक्त तथा मितव्ययी रूपमा सम्पन्न गर्नका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरेको छ।

आयोगका अनुसार आचारसंहिता सरोकारवालाको जानकारीका लागि आयोगको वेबसाइटमा सार्वजनिक गरिसकिएको छ। यस आचारसंहिताले नेपाल सरकार र प्रदेश सरकारका निकाय तथा मन्त्रीहरू, संवैधानिक निकाय र तिनका पदाधिकारी, स्थानीय तहका पदाधिकारी तथा सदस्य, सरकारी तथा अर्धसरकारी संस्थाका कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल र तिनका भातृ संगठन, उम्मेदवार, सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था, शैक्षिक संस्था, मतदाता, विकास साझेदार संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी, व्यापारिक तथा औद्योगिक क्षेत्रलगायत सबै सरोकारवाला पक्षले पालना गर्नुपर्ने आचरणहरू निर्धारण गरेको छ।

आचारसंहितामा सामाजिक सञ्जालको प्रयोगसम्बन्धी व्यवस्थालाई थप स्पष्ट र विस्तारित गरिएको छ। निर्वाचन प्रक्रियालाई प्रतिकूल प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार व्यक्त गर्ने, प्रचार–प्रसार गर्ने, विद्युतीय सामग्री उत्पादन वा प्रकाशन गर्ने, सामाजिक सञ्जालमा सामग्री शेयर गर्ने, गलत वा भ्रामक सूचना प्रवाह गर्ने, झुटा साइट वा एकाउन्ट सञ्चालन गर्ने तथा व्यक्तिगत लाञ्छना वा मानहानि हुने सामग्री उत्पादन, प्रकाशन वा प्रसारण गर्न नपाइने व्यवस्था गरिएको छ।

यसैगरी आयोगले तयार पारेको आचारसंहितामा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई समेत समावेश गरेको छ। आयोगले एआईको प्रयोग गरेर गलत र भ्रामक तथा मिथ्या सूचना, जानकारीहरु समेत प्रचार प्रसार गर्न नपाईने विषय उल्लेख गरेको छ।

सम्बन्धित समाचार

निर्वाचन ७४ दिन बाँकीः प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

यद्यपि, राजनीतिक दल वा उम्मेदवारले आफ्नो निजी वा आधिकारिक पेजमार्फत सिद्धान्त, विचार, प्रतिबद्धता र कार्ययोजना प्रस्तुत गर्न सक्ने व्यवस्था भने यथावत् राखिएको छ।

आचारसंहिताले हरित निर्वाचनसम्बन्धी व्यवस्था समेटेको छ भने राजनीतिक दलका घोषणा पत्रलगायत विषयहरूलाई समयानुकूल रूपमा समावेश गरिएको आयोगले जनाएको छ। साथै, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, टिसर्ट, ज्याकेट, गम्छा, ब्याच, मास्क, लकेट वा झोला जस्ता साङ्केतिक सामग्री लगाउन वा बोक्न नपाइने व्यवस्था पनि गरिएको छ।

निर्वाचन प्रचार–प्रसारका क्रममा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलाहरू सभ्य र अनुशासित ढंगले सञ्चालन गर्नुपर्ने तथा निर्वाचन अधिकृतको अनुमति लिएर प्रयोग गरिने सवारीसाधनमा तोकिएको आकार र संख्याका झण्डा तथा चुनाव चिन्ह मात्र प्रयोग गर्न आयोगले अनुरोध गरेको छ।

आचारसंहिता उल्लंघन भएको पाइएमा उल्लंघनको प्रकृति र स्वरूप हेरी सचेत गराउने, सूचना सार्वजनिक गर्ने, जरिवाना वा दण्ड सजाय कार्यान्वयन गर्ने तथा उम्मेदवारको उम्मेदवारी रद्द हुनेसम्मका कानुनी व्यवस्था लागू गरिने आयोगले स्पष्ट गरेको छ। आचारसंहिता प्रभावकारी कार्यान्वयनका लागि केन्द्रदेखि जिल्ला तहसम्म विभिन्न अनुगमन संरचना तथा संयन्त्र सक्रिय रहने जनाइएको छ।

निर्वाचन आयोगले खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई नियन्त्रण गर्न नैतिकता, इमान्दारी, स्वनियन्त्रण र सामाजिक सचेतनामा आधारित साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै सबै सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ। आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन सम्पन्न गरी नागरिकलाई मताधिकारको निर्वाध प्रयोगको अवसर सुनिश्चित गर्न सबैको सहयोग रहने विश्वास व्यक्त गरेको छ।

यो पनि पढ्नुहोस्

निर्वाचन आचार संहिताको मस्यौदा तयार: सञ्चारमाध्यम र सामाजिक सञ्जाल लगायत डिजिटल माध्यममा कस कसले के के गर्न पाइन्न?

निर्वाचन आचार संहिताको मस्यौदा तयार: सञ्चारमाध्यम र सामाजिक सञ्जाल लगायत डिजिटल माध्यममा कस कसले के के गर्न पाइन्न?

प्रकाशित: १४ पुष २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार