न्यु मिडिया नै अहिलेको सञ्चारको मूलधार हो: मन्त्री खरेल

  • Technology Khabar | १४ पुष २०८२, सोमबार
न्यु मिडिया नै अहिलेको सञ्चारको मूलधार हो: मन्त्री खरेल
च्याटजीपीटीको सहयोगमा बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदा खरेलले विश्वभर नै सञ्चार माध्यमको परिदृश्य बदलिँदो सन्दर्भमा नेपाल त्यसको अपवाद नभएको बताएका छन्।

मन्त्रालयले आइतबार पोखरामा आयोजना गरेको ‘आमसञ्चारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणासम्बन्धी अन्तर्क्रिया तथा छलफल मा मन्त्री खरेलले ‘न्यु मिडिया नै अहिलेको सञ्चारको मूलधार भएको विचार व्यक्त गरेका हुन्।

उनले भने, “अब न्यु मिडियालाई नजरअन्दाज गर्न पाइँदैन र सकिँदैन पनि। पुराना मिडियाप्रति सम्मान छ तर अबको समय न्यु मिडियाको हो।” मन्त्री खरेलले परम्परागत सञ्चार माध्यमले पनि नयाँ प्रविधि आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

मन्त्रालयले समाचार अनलाइन र अनलाइन टिभीहरूलाई नियमावली बनाएर दर्ता र सूचीकरण गरी पहिचान दिने तयारी गरेको उनको भनाइ थियो। अहिले सञ्चार क्षेत्र सङ्कटमा रहेको जनाउँदै उनले समाधानका उपाय अवलम्बन गर्न आग्रह गरे।

सञ्चार माध्यमका सामग्री खोजमूलक, शक्तिशाली र गहन हुनुपर्नेमा जोड दिँदै मन्त्री खरेलले प्रस्तुतिमा नवीनता दिँदै आधुनिक प्रविधि र उपकरण प्रयोग गर्नुपर्नेमा जोड दिए। उनले भने, “म मिडियाका सङ्कट, चुनौती र अवसरबारे जानकार छु, देशमा करिब १५ हजार मिडिया हुनु अनि एक पत्रकारका तीन न्युज पोर्टल हुँदा कसरी बच्ने?”

देशको अर्थव्यवस्था नै सङ्कटमा हुँदा सञ्चारमा सङ्कट हुनु अनौठो नभएको उनको भनाइ थियो।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले देश चुनावको बाटो हुँदै समृद्धि, सुशासन र विकासको मार्गमा अघि बढिसकेको औँल्याए। उनले भने, “मुलुक अब निर्वाचनमा अघि बढिसक्यो। अब कुनै राजनीतिक दल चुनावमा जान्नँ भन्ने अवस्था छैन, नयाँ दलहरू गठबन्धन गर्दै छन् पुराना दलहरू चुनावमा होमिइसकेका छन्।”

यो हप्ता सघन रूपमा दलहरू र जैनजी प्रतिनिधिसँग सरकारले छलफल गरी निर्वाचन महोल तयार पारेको उनको भनाइ छ। मुख्य राजनीतिक दलका शीर्ष नेता र प्रधानमन्त्री सुशीला कार्कीबिचको छलफलले चुनावी वातावरण बनाउन ठुलो सहयोग पुगेको उनले उल्लेख गरे।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय गण्डकीका मुख्य सचिव डन्डुराज घिमिरेले प्रदेश सरकार सञ्चार क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे।

“हामीले सञ्चार ऐन बनाएका छौं, नियमावली बनाएका छौं, प्रेस रजिस्ट्रार कार्यालय स्थापना गरेका छौं, जनतालाई सुसूचित गर्न र जनताप्रति जवाफदेही बनाउने मिडियासँग सहकार्य गर्न हामी तयार छौं,” उनले भने।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी अध्यक्ष रमेश पौडेलले कर्पोरेट र स्वरोजगारमूलक मिडिया धराशायी भएको बताउँदै मिडिया कोषको व्यवस्था गर्न माग गरे। उनले सञ्चार माध्यमलाई उद्योगको मान्यता दिनसमेत आग्रह गरे।

आइतबारै नेपाल दूरसञ्चार कम्पनी लिमिटेड प्रदेशिक निर्देशनालय पोखराले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री खरेलले जेनजीको भावना अनुरूप देश र समाजलाई परिवर्तनको दिशामा लैजानै पर्नेमा जोड दिँदै टेलिकमलाई देशव्यापी पहुँच पुयाउँदै गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गरेका थिए।

आजको गोरखापत्रबाट

प्रकाशित: १४ पुष २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार