
काठमाडौं ।
यदि तपाईं व्हाट्सएप प्रयोग गर्नुहुन्छ भने हालै चर्चामा रहेको यो ‘व्हाट्सएप गोस्ट पेयरिङ’ विषयबारे जान्नु अत्यन्तै जरुरी छ। भारतको तेलंगाना प्रहरीले साइबर अपराधीहरूले व्हाट्सएपमार्फत नयाँ प्रकारको ठगी गरिरहेको हालै खुलासा गरेको छ। यही नयाँ ठगी विधिलाई ‘व्हाट्सएप गोस्ट पेयरिङ’ भनिएको हो।
केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले पनि यस ठगीबारे चेतावनी जारी गरेको छ। हैदराबाद मेट्रोपोलिटन प्रहरी आयुक्त तथा तेलंगाना साइबर सुरक्षा निदेशकले नागरिकलाई सतर्क रहन र व्हाट्सएपमार्फत फैलिरहेको यस घोटालाबाट जोगिन आग्रह गरेका छन्।
ठगीको नयाँ तरिका
साइबर अपराधको दुनियाँमा ठगीका नयाँ–नयाँ तरिका अपनाइँदै आएका छन्। पहिले फोन कल वा एसएमएसमार्फत मालवेयर पठाएर ठगी गरिन्थ्यो। तर अहिले व्हाट्सएपमा ‘जानकारी सेयर गर्ने’ बहानामा ठगी भइरहेको प्रहरीले जनाएको छ।
बीबीसीहिन्दीका अनुसार भारतको हैदराबाद सहरका प्रहरी आयुक्त भी.सी. सज्जनारका अनुसार यो ठगी “के तपाईंले मेरो तस्बिर देख्नुभयो?” जस्ता सन्देश र लिंकबाट सुरु हुन्छ।
उनले यस्ता लिंकमा क्लिक नगर्न आग्रह गर्दै भनेका छन्—लिंक पठाउने व्यक्ति अपरिचित मात्र होइन, चिनेजानेको भए पनि क्लिक गर्नु हुँदैन।
यस्ता लिंकमा क्लिक गर्दा नक्कली व्हाट्सएप वेब पेज खुल्छ र कुनै ओटीपी वा क्यूआर कोड स्क्यान नगरी नै तपाईंको व्हाट्सएप अकाउन्ट ह्याकरको डिभाइस (कम्प्युटर, ल्यापटप वा मोबाइल) मा लगइन हुन्छ।
लिंक क्लिक गरेपछि के हुन्छ?
तेलंगाना साइबर सुरक्षा विभागकी निदेशक शिखा गोयलका अनुसार साइबर अपराधीहरूले प्रयोगकर्ताको व्यक्तिगत व्हाट्सएप अकाउन्ट आफ्नो डिभाइससँग लिंक गरेर संवेदनशील जानकारी चोर्दै आएका छन्। बैंक खाताको विवरण, निजी च्याट, फोटो, भिडियो सबै अपराधीको हातमा पर्छ। त्यसपछि उनीहरूले पीडितकै नाम प्रयोग गरेर अरूलाई सन्देश पठाउने र थप ठगी गर्ने गर्छन्।
केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अपराधीहरूले व्हाट्सएपको डिभाइस लिंकिङ फिचर दुरुपयोग गर्दै पेयरिङ कोडमार्फत कुनै अतिरिक्त प्रमाणीकरण बिना अकाउन्ट ह्याक गरिरहेका छन्।
ठगीबाट जोगिन के गर्ने?
शिखा गोयलका अनुसार मन्त्रालयले शंकास्पद लिंकमा क्लिक नगर्न स्पष्ट चेतावनी दिएको छ। सुरक्षित रहनका लागि यी उपाय अपनाउनुपर्छ:
• व्हाट्सएप सेटिङमा रहेको ‘लिङ्क्ड डिभाइसेज’ विकल्प नियमित रूपमा जाँच गर्नुहोस्।
• कुनै अपरिचित डिभाइस देखिएमा तुरुन्तै लग आउट गर्नुहोस्।
• आफ्नो व्हाट्सएपमा टू-स्टेप भेरिफिकेशन अनिवार्य रूपमा सक्रिय गर्नुहोस्।
यदि तपाईंको अकाउन्ट ह्याक भयो भने?
सावधानी अपनाउँदा पनि ह्याक हुने सम्भावना रहेको प्रहरीले जनाएको छ। यदि व्हाट्सएप वा वेब ब्राउजर ह्याक भएको शंका लागेमा तुरुन्तै त्यसको प्रयोग बन्द गर्नुपर्छ।
• ह्याकिङका क्रममा देखिएका सन्देश, लिंक र पप–अप नोटिफिकेसनका स्क्रिनसट सुरक्षित राख्नुहोस्।
• ट्रान्सफर आईडी, यूटीआर, कल लगजस्ता प्रमाण संकलन गर्नुहोस्।
• इमेल, बैंक तथा सामाजिक सञ्जालका पासवर्ड तुरुन्त परिवर्तन गर्नुहोस्।
• बैंक खाताबाट रकम हराएमा सम्बन्धित बैंक वा कम्पनीमा तत्काल सम्पर्क गरी उजुरी दर्ता गर्नुहोस्।
• गुगल क्रोम र अन्य एपहरू आधिकारिक नयाँ संस्करणमा अपडेट गर्नुहोस्।
तेलंगाना प्रहरीले ओटीपी, पिन, सीभीभी, व्हाट्सएप कोडजस्ता व्यक्तिगत विवरण कुनै पनि अवस्थामा कसैसँग सेयर नगर्न कडा चेतावनी दिएको छ। भातमा भएको यस प्रकारको समस्या नेपालमा पनि आउँदै वा आइसकेको हुन सक्छ। त्यसैले बेलैमा सचेत हुनु जरुरी देखिन्छ।
प्रकाशित: १४ पुष २०८२, सोमबार