
काठमाडौं ।
जाजरकोटका कल्पना नेपालीलाई छालामा देखिएको रोगले लामो समयदेखि पीडा भइरहेको थियो। उपचारका लागि परिवारले उनलाई एक दिन पैदल हिँडेर जिल्ला अस्पताल पुर्याए।
अस्पतालका चिकित्सकले कल्पनाको अवस्थाबारे सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकसँग भिडियोमार्फत परामर्श गरे। विशेषज्ञको सल्लाह अनुसार एक हप्तासम्म निगरानीमा राखी औषधोपचार गरेपछि कल्पनाले अहिले पूर्ण स्वास्थ्यलाभ प्राप्त गरेकी छिन्।
यस्तै कालीकोटका धर्मराज शाहीलाई पनि छालामा देखिएको रोगले लामो समयदेखि हैरान बनाएको थियो। उपचारका लागि परिवारले उनलाई जिल्लाबाहिर लैजाने तयारी गरिरहेको थियो। त्यसभन्दा पहिला उनी जिल्ला अस्पताल पुगे। अस्पतालका चिकित्सकले धर्मराजको अवस्था सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकसँग भिडियोमार्फत परामर्श गरे। विशेषज्ञको सल्लाह अनुसार उनी १५ दिनमै औषधोपचार गरेपछि निको भए।
प्रदेश अस्पताल सुर्खेतले थालेको यो सेवा प्रभावकारी बन्दै गइरहेको छ। दुर्गममा विशेषज्ञ सेवा उपलब्ध गराउन दूर चिकित्सा सेवा सुरु गरिएको छ। कर्णालीका पाँच जिल्लामा दूर चिकित्सा सेवा सुरु गरिएको हो। भौगोलिक रूपमा विकट रहेको कर्णालीमा यो सेवा प्रभावकारी बन्दै गइरहेको छ। दूर चिकित्सा सेवा प्रभावकारी सञ्चालनका लागि थप चिकित्सक र आवश्यक सञ्चार उपकरणको व्यवस्था गर्ने काम भइरहेको प्रदेश अस्पतालले जनाएको छ।
मौलिक हकका रूपमा रहेको स्वास्थ्य सेवा दुर्गम क्षेत्रका लक्षित वर्गलाई उपलब्ध गराउन दूर चिकित्सा प्रभावकारी हुँदै गइरहेको प्रदेश अस्पतालका दूर चिकित्सा फोकल पर्सन नरेन्द्र चन्दले बताए। उनले कर्णालीका पाँच वटा जिल्ला अस्पताललाई यो सेवामा जोडिएको जानकारी दिए। सरकारी अस्पतालबिच आपसी सहकार्य गरी जनतालाई गुणस्तरीय उपचार सेवा प्रदान गर्न दूर चिकित्सा सेवा सञ्चालन गरिएको हो।
प्रदेश अस्पताल सुर्खेतले २०७७ वैशाख ७ बाट दूर चिकित्सा सेवा सुरु गर्यो। गत आर्थिक वर्षबाट कर्णालीका पाँच वटा जिल्ला अस्पतालमा पनि यो सेवा विस्तार गरिएको छ। दूर चिकित्सा विस्तार भएसँगै प्रदेशको स्वास्थ्य क्षेत्रले गति लिने अपेक्षा गरिएको छ। अहिलेसम्म कर्णालीका एक हजार आठ सय जनाले यो सेवा लिएको फोकल पर्सन चन्दले जानकारी गराए।
कर्णालीका दुर्गम भूभाग, अदक्ष जनशक्ति र औषधीको अभावले विगतमा लाखौं खर्च गरेर सुर्खेत, नेपालगन्ज, काठमाडौँ हुँदै भारतका लखनउ जस्ता सहर पुगेर उपचार गर्न बाध्य भएका नागरिक अहिले भने आफ्नै जिल्लामा राहत अनुभव गरिरहेका छन्।
आजको गोरखापत्रबाट
प्रकाशित: १० पुष २०८२, बिहीबार