
काठमाडौं ।
विद्युतीय सवारीसाधन (ईभी) का लागि विकसित गरिएको नयाँ इन-ह्वील मोटरले हल्का तौलमै अत्यधिक टर्क प्रदान गर्न सक्ने दावी यसका डेभलपरहरूले गरेका छन्।
फरारीलाई पनि मोटर आपूर्ति गर्दै आएको मर्सिडिज–बेन्जको सहायक कम्पनी वाईएएसएले तयार पारेको यो मोटर केवल २८ पाउन्ड (१२.७ किलोग्राम) तौलको छ तर यसले एकैपटक १,००० हर्सपावरसम्म शक्ति दिन सक्छ वा लामो समयसम्म ४६९ देखि ५३६ हर्सपावर निरन्तर रूपमा उत्पादन गर्न सक्षम छ।
कम्पनीका अनुसार यसले वाईएएसएकै अघिल्लो अनौपचारिक रेकर्ड तोडेको हो जहाँ २९ पाउन्ड तौलको मोटरले ७३८ हर्सपावर उत्पादन गरेको थियो।
लाइभसाइन्सका अनुसार लनात्मक रूपमा हेर्दा, २०२५ निसान लिफमा प्रयोग गरिएको एकल मोटरले २१४ हर्सपावर मात्र उत्पादन गर्छ भने उच्च-प्रदर्शन ईभी मानिने टेस्ला मोडल एसले करिब १,०२० हर्सपावर उत्पादन गर्न तीनवटा मोटर प्रयोग गर्छ। यति सानो र हल्का मोटरमा अत्यधिक शक्ति अटाउन सक्नुको प्रमुख कारण वाईएएसए को एक्सियल फ्लक्स प्रविधि हो।
परम्परागत रेडियल फ्लक्स मोटरहरू लामो, नलीजस्ता संरचनामा आधारित हुन्छन्, जहाँ स्टेटर (मोटरको स्थिर भाग) ले बेलनाकार रोटरलाई घेरेको हुन्छ। चुम्बकीय क्षेत्र शाफ्टसँग ठाडो दिशामा प्रवाह भएर रोटर घुमाइन्छ।
तर एक्सियल फ्लक्स मोटर भने प्यानकेकजस्तै चेप्टो संरचनामा आधारित हुन्छ जसमा डिस्क आकारको रोटर र स्टेटर हुन्छन्।
यसमा चुम्बकीय फ्लक्स शाफ्टसँग समानान्तर अक्षको दिशामा प्रवाह हुन्छ, जसको कारण यसलाई ‘एक्सियल’ भनिएको हो। वाईएएसएका अनुसार यही प्रविधिले परम्परागत डिजाइनभन्दा निकै सानो र कम्प्याक्ट मोटर सम्भव बनाएको हो।
भविष्यमा अझ हल्का ईभी सम्भव
कम्पनीले यो डिजाइन स्केलेबल रहेको र यसमा कुनै दुर्लभ वा असामान्य सामग्री प्रयोग नगरिएको स्पष्ट पारेको छ। यस प्रविधिले ईभी डिजाइनमा ठूलो तौल कटौतीको सम्भावना पनि खोलिदिएको छ।
वाईएएसएका अनुसार परम्परागत पावरट्रेन र ड्राइभट्रेनको सट्टा इन-ह्वील मोटर प्रयोग गर्दा करिब ४४० पाउन्ड (२०० किलोग्राम) तौल बचत हुन सक्छ। यदि सुरुदेखि नै यही मोटरलाई ध्यानमा राखेर सवारी डिजाइन गरियो भने तौल बचत १,१०० पाउन्ड (५०० किलोग्राम) सम्म पुग्न सक्ने बताइएको छ।
यसको एउटा कारण मोटरमै समावेश गरिएको उन्नत पुनःउत्पादक ब्रेकिङ प्रणाली पनि हो। यो प्रणालीले ब्रेक लगाउँदा तापका रूपमा नष्ट हुने ऊर्जा संकलन गरेर ब्याट्री पुनःचार्ज गर्न प्रयोग गर्छ।
पाङ्ग्राबाट आएको ऊर्जा मोटरलाई घुमाएर बिजुली उत्पादन गरिन्छ, जसले गाडीको गति घटाउनुका साथै ब्याट्री चार्ज पनि गर्छ। वाईएएसए का अनुसार यसरी प्रभावकारी पुनःउत्पादक ब्रेकिङ प्रयोग गर्दा परम्परागत फ्रिक्सन ब्रेकको आवश्यकता घट्न सक्छ, जसले तौल र स्थान दुवै बचत गर्छ।
हालको संस्करण मुख्यतया उच्च-प्रदर्शन ईभी र सुपरकारका लागि लक्षित भए पनि, एक्सियल फ्लक्स मोटर प्रविधिले कम कम्पोनेन्ट प्रयोग गरेर बढी शक्ति उत्पादन गर्न सक्ने धेरै रेञ्जभएका ईभी हरूको सम्भावनाको ढोका खोलिदिएको छ।
साथै परम्परागत पावरट्रेनका लागि चाहिने ठाउँ कम हुँदा, निर्माता कम्पनीहरूले एरोडाइनामिक्स सुधार्न वा यात्रु तथा सामानका लागि थप भित्री स्थान उपलब्ध गराउने अवसर पनि पाउनेछन्।
प्रकाशित: १० पुष २०८२, बिहीबार