Technology Khabar ३ पुष २०८२, बिहीबार
काठमाडौं ।
भोडाफोनले जर्मनीस्थित क्लाउड सेवा कम्पनी स्केलिङ्कलाई १७५ मिलियन युरोमा खरिद गर्ने प्रक्रिया पूरा गरेको छ। सम्झौता घोषणा गरिएको करिब सात हप्तामै अधिग्रहण सम्पन्न भएको हो जसले यसमा खासै नियामकीय अवरोध नआएको संकेत गर्छ। भोडाफोनले गत अक्टोबरमा यो कारोबार आगामी वर्ष मार्चको अन्त्यसम्म पूरा हुने अपेक्षा गरेको बताएको थियो।
बुधबार जारी संक्षिप्त विज्ञप्तिमा भोडाफोनले सम्झौता तय गरिएअनुसारकै मूल्यमा सम्पन्न भएको पुष्टि गरे पनि यसले थप नयाँ विवरण भने दिएको छैन। भोडाफोनका अनुसार यो अधिग्रहणले जर्मनी तथा युरोपभर व्यावसायिक तथा म्यानेज्ड सेवा, क्लाउड र सुरक्षाजस्ता प्रमुख क्षेत्रमा कम्पनीको वृद्धिलाई तीव्र बनाउनेछ।
स्केलिङ्कले आफूलाई क्लाउड, डिजिटल रूपान्तरण र सुरक्षासम्बन्धी पूर्ण सेवा प्रदायक कम्पनीका रूपमा परिचय दिँदै आएको छ। यसको मुख्यालय म्युनिख नजिकै जर्मनीको गेर्चिङमा छ। साथै जर्मनीका थप पाँच सहरसँगै रोमानियाको क्लुज–नापोका, डेनमार्कको कोपेनहेगन र लिथुआनियाको भिल्नियसमा पनि यसका कार्यालय रहेका छन्।
कम्पनीमा ५०० भन्दा बढी कर्मचारी कार्यरत छन् जो माइक्रोसफ्ट र एडब्लुएस प्लेटफर्ममा क्लाउड डिप्लोयमेन्ट र माइग्रेशन व्यवस्थापन तथा व्यवसायिक ग्राहकका लागि एआई समाधान कार्यान्वयनमा विशेषज्ञ मानिन्छन्।
यस अधिग्रहणपछि भोडाफोनका व्यवसायिक तथा सार्वजनिक क्षेत्रका ग्राहकले अझ व्यापक डिजिटल सेवा र सहयोग पाउनेछन्। यो सम्झौता भोडाफोन बिजनेस युनिटमार्फत सुरक्षा, म्यानेज्ड सेवा र क्लाउड क्षेत्रमा द्रुत वृद्धि गर्ने कम्पनीको रणनीतिसँग मेल खाने टेलिकम्स डटकमले उल्लेख गरेको छ।
स्केलिङ्कका प्रमुख कार्यकारी अधिकृत फ्र्यांक स्ट्रेकर करिब चार वर्षदेखि कम्पनीको नेतृत्व गर्दै आएका छन् र उनी आफ्नो भूमिकामै रहने संकेत देखिएको छ। भोडाफोनले नेतृत्व परिवर्तनबारे कुनै उल्लेख गरेको छैन।
स्ट्रेकरले हालै यस अधिग्रहणलाई स्केलिङ्कको यात्राको ‘नयाँ अध्याय’ भनेका थिए। स्ट्रेकरको कार्यअनुभवमा डोयच टेलिकममा १४ वर्षसम्म क्लाउड व्यवसायसम्बन्धी वरिष्ठ पदमा काम गरेको पृष्ठभूमि पनि समावेश छ। टेलिकम क्षेत्रमा उनको अनुभव भोडाफोनका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।
२०२० मा स्थापना भएको स्केलिङ्क बजारमा तुलनात्मक रूपमा नयाँ कम्पनी हो। यो बेक एट अल, बाइनरी जीएमबीएच, डिरेक्ट ग्रुप्पे र इन्फोवानबीचको चारपक्षीय मर्जरबाट बनेको हो र त्यसयता अन्य कम्पनीहरू पनि खरिद गरिसकेको छ। कम्पनीसँग भोडाफोनको क्लाउड रणनीतिलाई अघि बढाउन सहयोग पुर्याउने पर्याप्त अनुभव र ठूलो ग्राहक आधार रहेको छ।
गत अक्टोबरसम्म स्केलिङ्कसँग मध्यम आकारका व्यवसायदेखि बहुराष्ट्रिय कम्पनीसम्म गरी १ हजारभन्दा बढी ग्राहक रहेको दावी गरिएको थियो। कम्पनीको वार्षिक आम्दानी १०० मिलियन युरोभन्दा बढी रहेको बताइएको छ। प्राइभेट इक्विटी फर्म वाटरल्यान्डबाट खरिद गरिएको स्केलिङ्क अब भोडाफोनको विश्वव्यापी टेलिकम तथा आईटी प्लेटफर्मको हिस्सा बनेको छ जसले आगामी दिनमा दुवै पक्षका लागि थप वृद्धि अवसर खोल्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ३ पुष २०८२, बिहीबार