
काठमाडौं ।
टेक्सासले सोनी, सामसङ, एलजी, हाइसेन्स र टीसीएलविरुद्ध दर्शकको सहमति बिना उनीहरूले के हेर्छन् भन्ने कुरा रेकर्ड गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको छ। ‘अटोमेटेड कन्टेन्ट रिकग्निसन’ (एसीआर) नामक यो प्रविधिले उपकरणमा चलिरहेको सामग्रीका छोटा ‘फिङ्गरप्रिन्ट’लाई डाटाबेससँग मिलाएर पहिचान गर्छ।
इन्ग्याजेटका अनुसार एसीआरको मुख्य उद्देश्य विज्ञापनदाताको फाइदाका लागि दर्शकको हेर्ने बानी लक्षित गर्नु हो। टेक्सासका अटर्नी जनरल केन प्याक्सटनको विज्ञप्तिअनुसार, “यो सफ्टवेयरले प्रयोगकर्ताको टेलिभिजन स्क्रिन प्रत्येक ५०० मिलिसेकेन्डमा स्क्रिनसट लिन सक्छ, रियल टाइममा हेर्ने गतिविधि निगरानी गर्न सक्छ र प्रयोगकर्तालाई थाहा नदिई वा सहमति बिना उक्त जानकारी कम्पनीलाई पठाउन सक्छ।”
एलजी एड सोलुसन्सको वेबसाइटमा एसीआरले कसरी विज्ञापनदातालाई “कार्यक्रम, नेटवर्क, एप, सेवा वा विधाअनुसार दर्शक लक्षित गर्न” मद्दत गर्छ भन्ने कुरा गर्वका साथ उल्लेख गरिएको छ। यो प्रविधि उपकरणमा चल्ने सबै कुरासँग काम गर्ने भएकाले खरिद र सदस्यता पहिचान गर्न, गेम खेल्ने बानी ट्र्याक गर्न तथा प्रयोगकर्तालाई क्षेत्र, सहर वा जिप कोडसम्म छुट्याउन सक्ने बताइएको छ।
टिभीमा एसीआर बन्द गर्ने सेटिङ हुनुपर्ने भए पनि टेक्सासले एलजीविरुद्ध दायर गरेको मुद्दामा टिभी सफ्टवेयरले प्रायः “प्रयोगकर्तालाई छलपूर्वक एसीआर सक्रिय गर्नतर्फ डोर्याउने र यसको अर्थ के हो भन्ने व्याख्या धेरैले नपढ्ने वा नबुझ्ने कानुनी भाषामा लुकाइदिने” उल्लेख गरिएको छ।
प्याक्सटनको विज्ञप्तिमा हाइसन्स र टीसीएलको चीनसँगको सम्बन्धलाई विशेष रूपमा उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “यी चिनियाँ सम्बन्धले उपभोक्ता डाटा संकलनबारे गम्भीर चिन्ता पैदा गर्छन्, र चीनको राष्ट्रिय सुरक्षा कानुनका कारण यो झन् बढ्छ, जसले चिनियाँ सरकारलाई अमेरिकी उपभोक्ता डाटामा पहुँच पाउने क्षमता दिन्छ।”
प्रकाशित: ३ पुष २०८२, बिहीबार