Technology Khabar ३ पुष २०८२, बिहीबार
काठमाडौं ।
माइक्रोसफ्टले यस वर्ष कोपाइलटलाई लिएर ठूलो दाउ खेलेको छ। कम्पनीले आफ्नो एआई च्याटबोटलाई विशेष लाइनका ल्यापटपमा समावेश गरेको छ र अन्य प्रविधि उत्पादनहरूमा पनि एकीकृत गर्ने प्रयास गरिरहेको छ। पछिल्लो पटक कोपाइलट देखिन सक्ने स्थान एलजी स्मार्ट टिभी हो जुन प्रयोगकर्तालाई थाहा नहुन पनि सक्छ।
पछिल्ला केही दिनयता धेरै एलजी स्मार्ट टिभी प्रयोगकर्ताले रेडिटमा उनीहरूको टिभीमा अचानक कोपाइलट एप देखिएको र त्यसलाई अनइन्स्टल गर्न नमिल्ने गुनासो गरेका छन्। इन्ग्याजेटका दुई कर्मचारीले २०२२ को एलजी ओएलईडी र २०२३ को यूए८००० मोडेलमा उक्त एप फेला पारे।
उनीहरूले एप हटाउन नसकिने तर होम स्क्रिनबाट लुकाउन भने सकिने पुष्टि गरेका छन्। यसै टिमका अर्का एक सदस्यसँग पनि २०२२ को एलजी ओएलईडी भएको तर उनको टिभीमा कोपाइलट नदेखिएको इन्ग्याजेटले उल्लेख गरेको छ। यसले एलजीसँग सेट गरिएका अनुमति र गोपनीयता सेटिङअनुसार फरक पर्न सक्ने देखाउँछ।
इन्ग्याजेटका अनुसार एलजीले २०२५ को सीईएसका क्रममा आफ्ना आगामी टिभी मोडेलहरूमा कोपाइलटमा आधारित एआई सर्च सुविधा ल्याउने बताएको थियो। तर विशेषगरी एआई सहायक प्रयोगकर्तामाझ कोपाइलट खासै लोकप्रिय नदेखिएको सन्दर्भमा टिभीमा स्थायी रूपमा एआई फिचर राखिनुले धेरै ग्राहकलाई असहज महसुस गराउन सक्छ।
प्रकाशित: ३ पुष २०८२, बिहीबार