डिजिटल प्लेटफर्मका भ्रामक सूचनाबाट ठगिने खतरा बढेको भन्दै श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ प्रणाली सुरु गर्ने

  • Technology Khabar | १ पुष २०८२, मंगलवार
डिजिटल प्लेटफर्मका भ्रामक सूचनाबाट ठगिने खतरा बढेको भन्दै श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ प्रणाली सुरु गर्ने
फाइल तस्बिर।

काठमाडौं ।

वैदेशिक रोजगारमा हुने ठगी तथा झुटा प्रलोभनबाट जोगाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने भएको छ ।

मन्त्रालयमा अन्तरराष्ट्रिय आप्रवासन दिवस मनाउने सन्र्दभमा आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै सचिव डा. कृष्णहरि पुस्करले वैदेशिक रोजगारीमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प टेन सेल’ सेन्टर सञ्चालनमा ल्याइने जानकारी दिए। उक्त सेल यही पुस ८ गतेदेखि सञ्चालनमा आउने उनले प्रष्ट पारे।

पछिल्लो समय सामाजिक सञ्जाल, फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत डिजिटल प्लेटफर्ममा राखिएका भ्रामक सूचनाबाट प्रभावित भई वैदेशिक रोजगारमा ठगिने खतरा बढ्दै गएको उल्लेख गर्दै सचिव डा पुस्करले श्रमिकका लागि आधिकारिक सूचना र सुरक्षित वातावरण निर्माण गर्न यो प्रणाली सुरु गर्न लागिएको बताए।

सचिव डा पुस्करका अनुसार ‘हेल्प टु हेल्प १० सेल’ मार्फत वैदेशिक रोजगारमा जाने श्रमिकले १० प्रमुख प्रश्नको उत्तर प्राप्त गर्न सक्नेछन्।

जसअन्तर्गत कुन देशमा रोजगारीको माग छ वा छैन, आधिकारिक म्यानपावर कम्पनी कुन हुन्, कामका लागि आवश्यक योग्यता, उमेर, तालिम, स्वास्थ्य अवस्था, लाग्ने खर्च, भुक्तानी प्रक्रिया, सुरक्षित जाने विधि तथा सम्बन्धित निकायका आधिकारिक सम्पर्क ठेगानालगायतका वैदेशिक रोजगारसँग सम्बन्धित आवश्यक जानकारी समेटिएको हुनेछ।

सचिव पुस्करका अनुसार सातै प्रदेशका श्रम कार्यालय, ७५३ स्थानीय तहमा रहेका रोजगार सूचना केन्द्र, वैदेशिक रोजगार विभाग र समाधान कल सेन्टरलाई समेटेर ‘हेल्प टु हेल्प १० सेल’ स्थापना गर्न लागिएको हो।

“वैदेशिक रोजगारमा जान चाहने जुनसुकै श्रमिकले राज्यको आधिकारिक सूचनालाई आधार माने धेरै ठगी हुनबाट बच्न सकिन्छ”, उनले भने, “डिजिटल माध्यमबाट फैलिरहेका ठगी तथा झुटा प्रलोभनबाट जोगाउनु हाम्रो प्रयास हो।” सामाजिक सञ्जालमार्फत पैसाको लोभ देखाएर विदेश पठाइदिने भ्रामक आधारविहीन प्रचार गर्नेका पछि नलाग्न उनले आग्रह गरे। रासस

प्रकाशित: १ पुष २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार