Technology Khabar १ पुष २०८२, मंगलवार
काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालमा लगानी गर्न चिनियाँ उद्यमी व्यवसायीहरुलाई आग्रह गरेका छन्।
चाईनिज जनरल एशोसिएसन अफ इण्डष्ट्रि एण्ड कमर्स इन नेपालद्धारा आयोजित कार्यक्रममा अध्यक्ष मल्लले नेपाल प्रविधि, नवप्रवर्तन तथा लगानीका दृष्टिकोणले अत्यन्तै आकर्षक गन्तव्य रहेको र प्रतिफलको समेत सुुनिश्चितता हुुनेगरी नीतिगत व्यवस्था रहेको बताए।
प्राकृतिक स्रोतसाधन, रणनीतिक एवं भौगोलिक अवस्थिति, ऊर्जाशील युवा जनशक्तिका कारण नेपाल लगानीका लागि उपयुक्त रहेको निवर्तमान अध्यक्ष मल्लको भनाई छ । उनले भने, ‘चिनियाँ लगानीबाट नेपालमा हुुने उत्पादनले भारत र चिनियाँ बजारमा सहज पहुँच विस्तार गर्न सकिन्छ।’
नेपालमा बैदेशिक लगानीको सुरक्षाप्रति बर्तमान सरकारको स्पष्ट प्रतिवद्धताले पनि लगानीको वातावरण राम्रो बन्दै गएको निवर्तमान अध्यक्ष मल्लले बताए।
जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र रियल इस्टेटजस्ता क्षेत्रहरूमा अपार सम्भावना रहेको उनले उल्लेख गरे। यी क्षेत्रमा चिनियाँ लगानी भित्रिएमा आधुनिक प्रविधि, ठूलो पूँजी र विकास अनुभव मार्फत रोजगारी सिर्जना, उद्योग निर्माण र राष्ट्रिय रूपान्तरणलाई तीव्रता दिन सकिने निवर्तमान अध्यक्ष मल्लको भनाइ छ।
चिनियाँ उद्यमी व्यवसायीसंग सहकार्य गर्न तयार रहेको भन्दै मल्लले लगानीका लागि स्थिर, मैत्रीपूर्ण र प्रतिफलको सुुनिश्चितता गराईने बताए। अध्यक्ष मल्लले भने,‘नेपालमा लगानीको सही समय यही हो, अवसरहरू विस्तार हुँदै गएका छन र चीनसँगको साझेदारी झन् बलियो बन्दै गएको छ।’
नेपाल–चीन सहकार्यले दुवै राष्ट्रका लागि साझा समृद्धि हासिल गर्न सकिने निवर्तमान अध्यक्ष मल्लले बताए।
नेपालका लागि चिनियाँ राजदूत चेन जोङले नेपालको पर्यटन, कृषि लगायतका क्षेत्रमा चिनियाँ लगानी विस्तार भईरहेको बताए।
प्रकाशित: १ पुष २०८२, मंगलवार