प्रविधिको विकाससँगै अवसर र चुनौती दुवै बढ्दै गएको छ: प्रदेश अर्थमन्त्री

  • Technology Khabar | २९ मंसिर २०८२, सोमबार
प्रविधिको विकाससँगै अवसर र चुनौती दुवै बढ्दै गएको छ: प्रदेश अर्थमन्त्री

काठमाडौं ।

मधेश सरकारका अर्थमन्त्री महेशप्रसाद यादवले सञ्चार माध्यमप्रति प्रदेश सरकारको दायित्व निश्चित रूपमा पूरा गरिने बताएका छन्।

जनकपुरधाममा आइतबार आयोजित एआई (कृत्रिम बुद्धिमत्ता) सम्बन्धी एकदिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री यादवले विज्ञान तथा प्रविधिको विकाससँगै अवसर र चुनौती दुवै बढ्दै गएको उल्लेख गरे। यस्ता तालिममार्फत अवसरको सदुपयोग गर्दै चुनौती सामना गर्न सञ्चारकर्मी सक्षम बन्नुपर्ने उनको भनाइ थियो।

प्रदेश सरकार सञ्चालन कायम तथा सुशासन जनउत्तरदायी शासनप्रणाली सुदृढ गर्न सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारप्रति जनतामा देखिएको असन्तुष्टि हटाउन र सरकारलाई सही दिशामा अगाडि बढाउन सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले भने, “प्रदेश सरकारप्रति जनताको तिक्तता कम गर्न र प्रदेश सरकारलाई बाटो बिराउन नदिन सञ्चारकर्मी तथा सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुने छ।”

अर्थमन्त्री यादवले समाजमा सकारात्मक परिवर्तन ल्याउन यस्ता तालिम लाभदायक हुने विश्वास व्यक्त गर्दै विज्ञान तथा प्रविधिको बढ्दो प्रयोगसँगै आमसञ्चार क्षेत्रले पनि नवीन प्रविधि प्रयोग गरी पत्रकारितालाई अझ प्रभावकारी र सहज बनाउनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा एआई प्रविधिले सञ्चार क्षेत्रमा ल्याउने सम्भावना, चुनौती तथा यसको जिम्मेवार प्रयोगका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रम नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको समन्वयमा आमसञ्चार प्राधिकरणको आयोजनामा भएको थियो।

आजको गोरखापत्रबाट

प्रकाशित: २९ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार