कुपाङ डाटा चुहावटको घटनापछि दक्षिण कोरियाली राष्ट्रपतिद्वारा कम्पनीहरुमाथि कडा दण्डको माग

Technology Khabar १७ मंसिर २०८२, बुधबार

कुपाङ डाटा चुहावटको घटनापछि दक्षिण कोरियाली राष्ट्रपतिद्वारा कम्पनीहरुमाथि कडा दण्डको माग
तस्बिर: रोयटर्स

काठमाडौं ।

दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युंगले मंगलबार डाटा चुहावटप्रति कम्पनीहरूको लापरवाही बढ्दै गएको भन्दै कडा दण्डको माग गरेका छन्। इ–कमर्स कम्पनी कुपाङमा भएको ठूलो डाटा चुहावटले गम्भीर चेतावनी दिएको उनले बताएका छन्।

करीब ३३ मिलियन कुपाङ ग्राहकहरूको व्यक्तिगत जानकारी चुहिएको यो घटना दक्षिण कोरियामा एक दशकभन्दा बढी समययताकै सबैभन्दा ठूलो डाटा उल्लङ्घन हो। न्यूयोर्क–सूचीकृत कुपाङ को सेयर रातारात ५ प्रतिशतले गिरावट आएपछि कम्पनी अहिले प्रहरी अनुसन्धान, भारी जरिवाना तथा सम्भावित सामूहिक मुद्दासँग जुधिरहेको छ।

क्याबिनेट बैठकमा बोल्दै लीले यस प्रकारका घटनामा जरिवाना र क्षतिपूर्ति पुनरावलोकन गर्न निर्देशन दिए। कुपाङले पाँच महिनासम्म चुहावट पत्ता नलगाएको “अचम्मलाग्दो” कुरा भएको उल्लेख गर्दै जिम्मेवारलाई शीघ्र पहिचान गरी कारबाही गर्नुपर्ने उनले बताए।

“कृत्रिम बुद्धिमत्ता र डिजिटलाइजेशनको युगमा व्यक्तिगत डाटा सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति हो। त्यसप्रति आवश्यक ध्यान नदिनेजस्ता गलत अभ्यास अब पूर्ण रूपमा अन्त्य हुनुपर्छ,” उनले भने। दक्षिण कोरियाको विद्यमान कानुनअनुसार पर्याप्त डाटा सुरक्षा उपाय लागू गर्न असफल भएका कम्पनीलाई कुल आम्दानीको ३ प्रतिशतसम्म जरिवाना गर्न सकिन्छ।

२०२४ मा ३८.३ ट्रिलियन वोन आम्दानी गरेको कुपाङ लाई यस अनुसार १ ट्रिलियन वोन (६८० मिलियन डलर) भन्दा बढी जरिवाना लाग्न सक्ने सम्भावना छ।

कुपाङका प्रमुख सूचना सुरक्षा अधिकारी ब्रेस म्याथेसले संसदीय सुनुवाइमा एक व्यक्तिले निजी एन्क्रिप्शन की प्राप्त गरी नक्कली टोकन बनाएर ग्राहकको रूपमा प्रणालीमा प्रवेश गरेको बताए। “यदि यही व्यक्ति हो भने, उसले संगठनभित्र विशेष पहुँच पाउने भूमिका पाएको देखिन्छ, जसले यस की–मा पहुँच प्रदान गरेको हुन्छ,” म्याथेसले भने।

रोयटर्सका अनुसार प्रमाणीकरण प्रणाली विकासमा सहभागिता जनाएका पूर्व कुपाङ इन्जिनियर एक मुख्य सन्देही भएको सीईओ पार्क डे–जुनले बताए, तर अन्य व्यक्तिहरू पनि संलग्न हुनसक्ने उल्लेख गरे। पार्कले नाम भने खुलाएनन्।

कुपाङले घटनाप्रति माफी मागेको छ, तर सांसदहरूले २०१० मा कम्पनी स्थापना गरेका कोरियन–अमेरिकी संस्थापक बम किमले स्वयं उपस्थित भएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्।

जापानको सफ्टब्याङ्कद्वारा समर्थित कुपाङ ले ग्राहकको नाम, इमेल, घर ठेगाना र फोन नम्बर चुहिएको पुष्टि गरेको छ। चुहावटबाट प्रभावितको संख्या कम्पनीका सक्रिय अनलाइन रिटेल प्रयोगकर्ताहरू (२४.७ मिलियन) भन्दा धेरै छ। यो चुहावट जुन महिनामै सुरु भएको मानिए पनि कुपाङ ले सरकारी निकायलाई रिपोर्ट भने नोभेम्बरमा मात्र गरेको थियो।

प्रकाशित: १७ मंसिर २०८२, बुधबार

तपाइको प्रतिक्रिया