Technology Khabar ७ मंसिर २०८२, आईतवार
काठमाडौं ।
नेपालमा पहिलो पटक अपांगता भएका व्यक्तिहरूका लागि आयोजित राष्ट्रियस्तरको ‘एआई फर पिपुल विथ डिसेबिलिटी’ (एआईडीए) ह्याकाथन सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतिक इन्नोभेसनले आयोजना गरेको ह्याकाथन सनफ्लावर स्पेट्रकम बाई आरएक्सपीनले शीर्ष प्रायोजन र सनवे कलेजको पावर्ड बाई प्रायोजन गरेको थियो।
देशभरबाट प्राप्त ३५ बढी आवेदन मध्येबाट उत्कृष्ट सात टोली छनोट गरिएको थियो। सहभागीमध्ये चार जना स्वयं अपांगता भएका व्यक्ति र करिब ४० प्रतिशत महिला सहभागी थिए।
प्रतियोगितामा सहभागी टोलीहरूले स्मार्ट मोबिलिटी र सञ्चार, एआई फर अटिजम, डिजिटल केयरगिभर प्रणाली तथा श्रवण–वाक असक्षम सिकाइ सहयोगी प्रविधि सम्बन्धी प्रोटोटाइप विकास गरेका थिए।
भर्चुअल आइडियाथनपछि छानिएका टोलीहरूले सनवे कलेजमा ३६ घण्टे ह्याकाथनमा प्रतिस्पर्धा गर्दै आफ्ना परियोजना आइसिटी अवार्ड २०२५ को प्रिईभेन्ट स्टार्टअप एण्ड आईडिया फेस्टमा समेत प्रस्तुत गरेका थिए।
त्यसपछि १५ नोभेम्बरमा ग्राण्ड फिनाले भएको थियो । ग्राण्ड फिनालेमा काठमाडौं विश्वविद्यालयका सरिता खड्का र मनोज शाक्य, वान पोइन्टका विकास नाहाटा, लिपफ्रगका अंकुर शर्मा र ध्रुव अधिकारी मूल्यांकनकर्ताको रूपमा रहेका थिए।
प्रतियोगितामा थिंक एआईले पहिलो स्थान हासिल गर्दै ५० हजार रुपैयाँ प्राप्त गरेको छ । यस्तै मिसन चौरासी पहिलो रनर–अप हुँदै ३० हजार र एक्सेस कोड दोस्रो रनर–अप हुँदै २० हजार रूपैयाँ जितेको छ।
साथै टिम सिन्याप्टिकले ‘बेस्ट इनोभेसन अवार्ड’ जितेको छ। ‘एसेटिभ एआई फर अटिजम’ मा टिम सिन्याप्टिक र मिसन चौरासीले एसीसी उपकरण, सिकाइ सहायक प्रविधि तथा सञ्चार उपकरणसम्बन्धी प्रभावशाली प्रस्ताव प्रस्तुत गरेका थिए।
आरएक्सपीनले सञ्चालन गरेको सनफ्लावर स्पेक्ट्रम प्लेटफर्मले ह्याकथनलाई समावेशी समाज निर्माणका लागि भविष्यका नवप्रवर्तकहरूलाई अपांगता–मैत्री प्रविधिमा प्रेरित गर्ने जानकारी दिएको थियो।
आरएक्सपीनका संस्थापक ध्रुव अधिकारीले यो पहल सानो भए पनि दीर्घकालीन प्रभाव पार्ने बताए। यस्तै सनवे कलेजका निर्देशक खुशल रेग्मीले एआई शिक्षामा अग्रणी संस्थानका रूपमा यस्ता पहललाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे।
आयोजकका अनुसार अब सुरूवाती समयका शीर्ष १६ टिम इन्क्युबेशन स्क्रिनिङ प्रक्रियामा प्रवेश गर्नेछन्, जसले तिनीहरूलाई दीर्घकालीन मार्गदर्शन, अनुसन्धान सहयोग तथा दिगो असिस्टिभ–टेक उद्यममा रूपान्तरण हुने अवसर प्रदान गर्नेछ।
कार्यक्रम निर्देशक जतिन भुसालले आईडालाई प्रत्येक वर्ष अझ ठूलो, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने योजना सुनाएका थिए।
सनफ्लावर स्पेक्ट्रमले सन् २०२६ मा ‘नेपालको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन: एआई फर पिपुल विथ डिसेबिलिटिज’ आयोजना गर्ने तयारी समेत गरिरहेको छ।
प्रकाशित: ७ मंसिर २०८२, आईतवार