काठमाडौं ।
आगामी २०८३ कार्तिक ९ गते देखि मंसिर ५ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन हुने नेपाल प्रिमियर लिग सिजन–३ प्रतियोगितामा नेपाल टेलिकम अफिसियल टेलिकम पार्टनर रहने भएको छ।
यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र नेपाल प्रिमियर लिग सिजन–३ को आयोजक नेपाल क्रिकेट संघ क्यानको तर्फबाट महाप्रबन्धक उत्सव ढुंगानाले हस्ताक्षर गरेको प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए।
नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल टेलिकमको तर्फबाट प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै कम्पनीको ब्राण्ड इमेज बढाउन मात्र नभई नेपालमा क्रिकेट खेललाई संस्थागत रुपमा थप प्रवद्र्धन गर्नका लागि समेत यो सहकार्य उपयोगी हुने विश्वास व्यक्त गरे।
यसले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वलाई समेत व्यवहारमा लागु गर्न र दुई संस्था बिचको सहकार्यलाई बलियो बनाउन भूमिका खेल्ने उनले बताए।
नेपाल क्रिकेट संघका महाप्रबन्धक उत्सव ढुंगानाले नेपाल टेलिकम जस्तो प्रतिष्ठित ब्राण्डसँग जोडिएर सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसबाट नेपाली क्रिकेट खेललाई अझै अगाडि बढाउन योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले यो सहकार्यले भविष्यमा नेपालमा क्रिकेट खेललाई मात्र नभई खेलाडीको जीवनस्तरमा समेत परिवर्तन ल्याउन सहयोग पुग्ने अपेक्षा गरे।
नेपाली खेलकुद क्षेत्रको संवद्र्धन एवम् प्रवद्र्धन गर्ने नेपाल सरकारको नीतिलाई यस सहकार्यले थप टेवा पुर्याउने विश्वास कम्पनीले लिएको छ।
प्रकाशित: १ कार्तिक २०८३, आईतवार