एनपीएलको डिजिटल प्रसारण डिशहोम गो एपमा मात्र, अन्य प्लेटफर्ममा अनधिकृत प्रसारण गरे कानुनी कारबाही गरिने

Technology Khabar ७ मंसिर २०८२, आईतवार

काठमाडौं ।

नेपाल क्रिकेट संघ क्यानद्वारा आयोजित नेपाल प्रिमियर लिग एनपीएलको ओभर द टप (ओटीटी) प्रसारणको अधिकार डिशहोमलाई मात्र भएकोले डिशहोम गो बाहेकका कुनै पनि प्लेटफर्मबाट खेलहरु प्रसारण नगर्न र नहेर्न सम्बन्धित सबैलाई डिशहोम र क्यानले संयुक्त रुपमा आग्रह गरेका छन्। अटेर गरे कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।

आयोजक क्यान र ओटीटी प्रसारण अधिकारप्राप्त डिशहोमले हालै एक संयुक्त सूचना प्रकाशित गर्दै यस प्रकारको चेतावनीयुक्त जानकारी गराएका हुन्।

‘नेपाल प्रिमियर लिगको डिजिटल अधिकार ओटीटी सेवा प्रदायक संस्था डिश मिडिया नेटवर्क लिमिटेडलाई अधिकार रहेको हुँदा नेपाल प्रिमियर लिग अन्तर्गतका सम्पूर्ण खेलहरुको डिजिटल प्रसारण अधिकार डिशहोमलाई प्रदान गरिएको छ। डिशहोमको ओटीटी प्लेटफर्म (डिशहोम गो) बाहेकका अन्य डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जाल (यूट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटर, टेलिग्राम वा अन्य वेवसाइट र एप) बाट प्रसारण गर्नु अनुचित तथा अनधिकृत भएको हुँदा उक्त कार्य गर्न/गराउन मनाही छ’, सूचनामा भनिएको छ।

अधिकार प्राप्त डिशहोम बाहेक नेपाल प्रिमियर लिग अन्तर्गतका सम्पूर्ण खेलसँग सम्बन्धित सामग्रीहरुको अनधिकृत बिक्री वितरण, पुन:प्रसारण, रेकर्डिङ, सम्पादन तथा अन्य कुनै पनि किसिमले प्रयोग गर्ने/गराउने कार्य गैरकानूनी रहेको हुँदा दण्डनीय रहेको सूचनामा स्मरण गराइएको छ।

नेपाल प्रिमियर लिगको भारत बाहेक अन्य देशहरुमा ओटीटी प्रसारण सम्बन्धी सम्पूर्ण अधिकार डिश मिडिया नेटवर्क लिमिटेडसँग रहेको छ। डिशहोमको डिशहोम गोनामक एप डाउनलोड गरी नेपाल प्रिमियर लिगका सम्पूर्ण खेलहरु सोही एप मार्फत हेर्न सकिने कम्पनीले जानकारी दिएको छ।

‘अनधिकृत लिंक, साइट तथा माध्यमहरुबाट क्रिकेट खेल हेर्न खोज्दा आफ्नो व्यक्तिगत तथा वित्तीय विवरण सार्वजनिक भई साईबर अपराधमा पर्न सक्ने हुँदा त्यस्ता अनधिकृत कार्य गर्न तथा सो को प्रचार-प्रसार नगर्न/नगराउनु हुन सम्पूर्ण व्यक्ति/संस्था तथा सरोकारवालाहरुलाई विनम्र अनुरोध गर्दछौ। साथै नेपाल प्रिमियर लिगका कुनै पनि खेलहरु अनधिकृत रुपमा प्रसारण भएको सूचना प्राप्त भएमा क्यान वा डिशहोमलाई यथाशीघ्र जानकारी गराउनुहुन हामी नेपाल क्रिकेट संघ (क्यान) तथा डिश मिडिया नेटवर्क लिमिटेडको तर्फबाट संयुक्त निवेदन गर्दछौ। साथै त्यस्ता अनधिकृत कार्यहरु गैरकानूनी भएकोले प्रचलित कानून बमोजिम कारबाही हुने अवगत गराउँदछौं’, सूचनामा थप उल्लेख छ।

प्रकाशित: ७ मंसिर २०८२, आईतवार

तपाइको प्रतिक्रिया