भविष्यमा डाटा सेन्टरहरुका कारण अझ बढी ऊर्जा आवश्यक पर्ने, त्यस्ता पर्याप्त संरचना बन्नेमा दुविधा: अध्ययन

Technology Khabar २ मंसिर २०८२, मंगलवार

भविष्यमा डाटा सेन्टरहरुका कारण अझ बढी ऊर्जा आवश्यक पर्ने, त्यस्ता पर्याप्त संरचना बन्नेमा दुविधा: अध्ययन
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

युटिलिटी कम्पनीहरूले केही वर्षमै आवश्यक पर्ने बिजुलीको माग दुई–तीन गुना बढ्ने बताएका छन् जुन तीव्र गतिमा फैलिँदै गएको एआई अर्थतन्त्रका ठूला डाटा सेन्टरहरूलाई चलाउनुपर्नेछ भन्ने अनुमानमा आधारित छ।

तर यति छिटो नयाँ विद्युत्गृह निर्माण गरेर माग पूरा गर्न असम्भवजस्तै चुनौती देखिँदा सांसद, नीतिनिर्माता र नियमनकारी संस्थाहरूले यी अनुमान कति भरपर्दो हुन् भनेर शंका गर्न थालेका छन्।

मुख्य चिन्ता मागका पूर्वानुमानहरू कहिल्यै नबन्न सक्ने डाटा सेन्टर परियोजनामा आधारित त छैनन् र यसले सामान्य उपभोक्तालाई नै अर्बौँ डलर बराबर अनावश्यक विद्युत्गृह र ग्रिड संरचना निर्माणको खर्च व्यहोर्नुपर्ने स्थिति त आउने होइन भन्ने हो।

यसबीच, विश्लेषकहरूले एआईमा भइरहेको लगानीले प्रविधि कम्पनीहरूको सेयर मूल्य अत्यधिक बढेको र कुनै पनि बेला यो हावाको भरिएको बेलुन फुट्न सक्ने चेतावनी दिएका छन्।

लाइभसाइन्सका अनुसार उपभोक्ता अधिकार समूहहरूले भने मध्य–एटलान्टिक क्षेत्रको ग्रिड (न्यूजर्सीदेखि इलिनोइस र वासिङ्टन, डी.सी. सम्म फैलिएको) मा केही स्थानमा डाटा सेन्टरलाई आवश्यक बिजुली आपूर्ति गर्न—कसैले बनाइएका, कसैले अझै नबनाइएका—परियोजनाको खर्च पहिले नै सामान्य उपभोक्ताबाट उठाइँदै आएको पत्ता परेका छन्।

“त्यहाँ अनुमान पनि धेरै छ,” मध्य–एटलान्टिक ग्रिड क्षेत्रको स्वतन्त्र बजार निगरानी संस्था ‘मोनिटरिङ एनालिटिक्स’ का प्रमुख जो बोउरिङले भने। “कोही निश्चित रुपमा जान्दैन। कुन अनुमान यथार्थ हो, कुन दोहोरो गनिएको छ, कुन बिल्कुलै वास्तविक छैन—यसको गम्भीर मूल्यांकन भएको छैन।” ग्रिड र युटिलिटीहरूले यस्ता ठूला परियोजनालाई कसरी जाँच्ने भन्ने विषयमा कुनै समान मानक नहुँदा समाधान खोज्नु ठूलो विषय बनेको छ।

अनिश्चितताका प्रमुख कारणमध्ये एक हो—ग्रिडमा जडान चाहिँदै गरेका तर योजनै स्पष्ट नभएका वा परियोजना पूरा गर्न पर्याप्त ग्राहक, लगानी वा क्षमता नभएका विकासकर्ता। अर्को कारण, टेक्सस र मध्य–एटलान्टिक ग्रिड सञ्चालन संस्था पीजेएमले भेट्टाएअनुसार एउटै डाटा सेन्टर परियोजनाले विभिन्न युटिलिटी क्षेत्रमा छुट्टाछुट्टै जडान अनुरोध दर्ता गर्ने गरेको अवस्था हो।

प्रतिस्पर्धाका कारण विकासकर्ताहरूले आफूले अन्यत्र पनि बिजुलीको अनुरोध गरेका छन् कि छैनन् भन्ने विवरण युटिलिटीहरूलाई बताउँदैनन्। यसले एउटै परियोजनाले धेरै युटिलिटीको माग पूर्वानुमान कृत्रिम रूपमा बढाइदिन्छ। सेप्टेम्बरमा अमेरिकी फेडेरल एनर्जी रेगुलेटरी कमिसनका एक सदस्यले ग्रिड सञ्चालकहरूलाई परियोजनाको व्यावसायिक विश्वसनीयता कसरी निर्धारण गर्छन् भन्ने विवरण मागेपछि पूर्वानुमान सुधार्ने प्रयासले ठूला तहमा ध्यान पायो।

लाभमा आधारित विद्युत् कम्पनीहरूको संगठन इडिसन इलेक्ट्रिक इन्स्टिच्युटले माग पूर्वानुमान सुधार्ने प्रयासलाई स्वागत गरेको छ। गुगल र मेटाजस्ता ठूला कम्पनीहरू रहेको डाटा सेन्टर कोअलिसनले नियमनकारी निकायलाई युटिलिटीहरूले कसरी पूर्वानुमान बनाउँछन् भन्ने विषयमा थप जानकारी माग्न र परियोजना व्यावसायिक रूपमा कति विश्वसनीय छ भन्ने निर्धारण गर्न ‘सर्वोत्तम अभ्यास’ बनाउन आग्रह गरेको छ।

कोअलिसनका ऊर्जा उपाध्यक्ष आरोन टिनजुमका अनुसार, पूर्वानुमानलाई सही र पारदर्शी बनाउनु ऊर्जा माग वृद्धि सम्हाल्न “पहिलो आधारभूत कदम” हो।

पेनसिल्भेनियामा डाटा सेन्टर विकास गर्ने कम्पनीका प्रमुख इगल फाइबुशले अत्यधिक संख्यामा डेटा सेन्टर परियोजनाले बिजुली मागेका कारण युटिलिटीहरू हाल “फायर ड्रिल” जस्तै अवस्थाबाट गुज्रिरहेका रहेको बताए।

उनी भन्छन्, अधिकांश परियोजना अन्ततः बन्ने छैनन्, किनकि धेरै विकासकर्ताहरू नयाँ छन् र डेटा सेन्टर निर्माणका वास्तविक आवश्यकताबारे थोरै मात्र जान्दछन्।

धेरै राज्यहरू पनि युटिलिटीको पूर्वानुमानमा के–के रहेको छ भन्ने बुझ्न र अत्यधिक अनुमान वा दोहोरो गनिएका परियोजनालाई हटाउन कदम चालिरहेका छन्।

ठूला डेटा सेन्टर आकर्षित गरिरहेको टेक्ससमा २०२४ मा ग्रिड नियामक ईआरसीओटीले २०३० सम्म माग दोब्बर हुन सक्ने बताएपछि, राज्यका सांसदहरू 2021 को घातक हिउँदमा भएको व्यापक विद्युत् अवरोधको स्मरण गर्दै अचम्ममा परे।

उनीहरूले यस्तो अनुमान यथार्थपरक छ कि छैन भन्ने मूल्यांकन गर्न नियामकहरूसँग आवश्यक उपकरण नै नभएको पत्ता लगाए। राज्य सिनेटर फिल किङले सुरुमा ग्रिड नियामक, युटिलिटी र ग्रिड सञ्चालकहरूलाई नै थाहा छैन—“यी मागहरू वास्तविक हुन् कि अटकल मात्र, वा बीचकै कुनै अवस्था हो भनेका थिए। किङले प्रस्तुत गरेको र अहिले कानुन बनेको विधेयकले डाटा सेन्टर विकासकर्तालाई टेक्ससका अन्य स्थानमा पनि बिजुली अनुरोध गरेको छ कि छैन भन्ने खुलाउने र परियोजनामा उनीहरूको वास्तविक आर्थिक प्रतिबद्धता कति छ भन्ने मापदण्ड बनाउने व्यवस्था गरेको छ।

१५ लाख ग्राहकलाई सेवा दिने पेनसिल्भेनियाको पीपीएल इलेक्ट्रिक युटिलिटी २०३० सम्म डाटा सेन्टरका कारण आफ्नो पिक–लोड तीन गुणा हुन सक्ने अनुमान गर्छ।

पीपीएलका सीईओ भिन्सेन्ट सोर्गीका अनुसार ती परियोजनाहरू “वास्तविक छन्, ती छिटो र तीव्र रूपमा आउँदैछन्” र “नजिकैको समयमा अत्यधिक विद्युत्गृह बनाइदिने जोखिम छैन।”

कम्पनीका अनुसार ती परियोजना प्रायः दसौँ लाख डलर बराबर वित्तीय प्रतिबद्धता भएका सम्झौताले समर्थित छन्। तर यिनै पूर्वानुमानले पेनसिल्भेनियाका सांसद दानिलो बर्गोसलाई युटिलिटीहरूले ऊर्जा माग पूर्वानुमान कसरी बनाउँछन् भन्ने निरीक्षण गर्न नियामक निकायलाई थप अधिकार दिने विधेयक प्रस्तुत गर्न प्रेरित गर्यो।

पीईसीओले दिएको जानकारी अनुसार मध्य–अटलान्टिक ग्रिडमा डाटा सेन्टरका कारण थोक बिजुली मूल्य बढेका कारणबर्गोसको फिलाडेल्फिया क्षेत्रमा उपभोक्ताहरूको बिजुली बिल बढेको छ।

बर्गोस भन्छन्, यही कारण उपभोक्ता सुरक्षित हुनुपर्छ, किनकि उच्च बिल तिर्ने उनीहरू हुन्। “कम्पनीहरूले आफ्नो नाफा कमाएपछि,” बर्गोसले भने, “उपभोक्ताप्रति कुनै सहानुभूति देखिँदैन।”

प्रकाशित: २ मंसिर २०८२, मंगलवार

तपाइको प्रतिक्रिया