Technology Khabar ३० कार्तिक २०८२, आईतवार
काठमाडौं ।
स्पेसएक्सले शुक्रबार (नोभेम्बर १४) राति फ्लोरिडाको स्पेस कोस्टबाट करिब चार घण्टाको अन्तरालमा दुई रकेट प्रक्षेपण गरेर दोहोरो प्रक्षेपण सफल गरेको छ।
पहिलो उडान स्थानीय समय अनुसार शुक्रबार राति १०:०८ बजे (शनिबार ०३:०८ जीएमटी) नासाको केनेडी स्पेस सेन्टरको ऐतिहासिक प्याड ३९ए बाट भयो, जहाँ २९ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहसहितको फाल्कन९ ले रकेट उडान भर्यो।
यो मिशन पूर्ण रूपमा योजनाअनुसार अगाडि बढ्यो। उडानपछि करिब ८.५ मिनेटमा फाल्कन९ को पहिलो चरण एटलान्टिक महासागरमा रहेको स्पेसएक्सको ड्रोनशिप “अ शर्टफल अफ ग्राभिटास” मा अवतरण भयो र करिब ५६ मिनेटपछि माथिल्लो चरणले २९ वटा उपग्रहलाई लो अर्थ अर्बिट (एलईओ) मा स्थापित गर्यो।
त्यसपछि स्थानीय समय अनुसार शनिबार राति १:४४ बजे (०६:४४ जीएमटी) केनेडी स्पेस सेन्टर नजिकै रहेको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट अर्को फाल्कन९ ले फेरि २९ स्टारलिङ्क उपग्रहसहित प्रक्षेपण गर्यो।
यसको पहिलो चरणले पनि सफलतापूर्वक अटलान्टिक महासागरमा रहेको ड्रोनशिप “जस्ट रिड द इन्स्ट्रक्शन्स” मा अवतरण गर्यो। योजना अनुसार सबै अगाडि बढेमा २९ वटा उपग्रह उडानपछि करिब ६५ मिनेटमा एलईओमा स्थापित हुनेछन्।
यी दुई प्रक्षेपण स्पेसएक्सका यो वर्षका १४५औं र १४६औं फाल्कन९ मिशन हुन्। सयभन्दा बढी उडान स्टारलिङ्क मेगाकन्ष्टलेसन विस्तारका लागि समर्पित छन्, जुन अहिले सम्मको सबैभन्दा ठूलो उपग्रह नेटवर्क बनेको छ। हाल एलईओमा ८,९०० भन्दा बढी स्टारलिङ्क उपग्रह सञ्चालनमा छन्, र यो संख्या निरन्तर बढ्दै गएको छ।
दुवै प्रक्षेपणबीच तीन घण्टा ३६ मिनेटको अन्तराल द्रुत मानिन्छ, तर यो स्पेसएक्सको रेकर्ड भने होइन। २०२४ अगस्ट ३१ मा कम्पनीले दुई फाल्कन९ स्टारलिङ्क मिशन ६५ मिनेटको अन्तरमै प्रक्षेपण गरेको थियो। एक उडान केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट र अर्को क्यालिफोर्नियाको भ्यान्डेनबर्ग स्पेस फोर्स बेसबाट भएको थियो।
प्रकाशित: ३० कार्तिक २०८२, आईतवार