प्युठान जिल्लामा विद्युतीय सवारीतर्फ आकर्षण

Technology Khabar २३ कार्तिक २०८२, आईतवार

प्युठान जिल्लामा विद्युतीय सवारीतर्फ आकर्षण
सांकेतिक तस्बिर

काठमाडौं ।

जिल्लामा पछिल्लो समय यातायात व्यवसायीले विद्युतीय सार्वजनिक सवारीसाधनमा लगानी बढाएका छन्। जिल्लामा रहेका गौमुखी स्वर्गद्वारी यातायात सेवा प्रालि र नमस्ते प्युठान यातायात सेवा प्रालिमार्फत एक सयभन्दा बढी विद्युतीय गाडी चलिरहेका छन्।

नमस्ते प्युठान यातायात प्रालिका कार्यालय प्रमुख दिलबहादुर दसौदीले ४० वटा इभी गाडी आफ्नो प्रालि अन्तर्गत सञ्चालनमा रहेको जानकारी दिए। यस अन्तर्गत २२ करोड ४० लाख रुपियाँ विद्युतीय गाडीमा लगानी भएको उनको भनाइ छ । उनले पछिल्लो समय यातायात व्यवसायी विद्युतीय गाडीतर्फ आकर्षित भएकोसमेत बताए।

प्युठानभित्रका विभिन्न रुटमा विद्युतीय गाडी चल्ने गरेका छन्। जिल्लाबाहिर काठमाडौँ, नारायणगढ, बर्दिया, नेपालगन्ज, धनगढी, बुटवल, कृष्णनगर, दाङलगायत ठाउँमा समेत विद्युतीय गाडी चल्ने गरेका छन्। यसले गर्दा यात्रुले समेत छिटोछरितो यातायात सेवा पाउने गरेका छन्।

जिल्लामा रहेका यातायात प्रालिले मात्र नभएर जिल्लाबाहिरका यातायात प्रालिका विद्युतीय गाडीसमेत प्युठानमा चल्ने गरेका छन्।

स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले दैनिक ५० वटा विद्युतीय गाडीले सेवा दिइरहेको बताए। उनले छिमेकी जिल्लाका यातायात प्रालिले समेत विद्युतीय गाडी प्रयोगमा ल्याएको बताए।

आजको गोरखापत्रबाट

प्रकाशित: २३ कार्तिक २०८२, आईतवार

तपाइको प्रतिक्रिया