एकहत्तर सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै कामपा

  • Technology Khabar | २३ कार्तिक २०८२, आईतवार
एकहत्तर सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै कामपा

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले विद्युतीय शासन प्रणालीलाई थप मजबुद बनाउन ७१ सेवा केन्द्रका लागि तीव्र गतिको इन्टरनेट सेवा जडान प्रक्रिया अघि बढाएको छ।

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए।

“यसअघि वडामा २० एमबिपिएस क्षमताको लिज लाइन लिइएको थियो। यसको लागत धेरै थियो। अहिलेको लागत कम र क्षमता बढी भएको छ। अहिले जडान गरिएको इन्टरनेट सेवाको भारका आधारमा केन्द्रहरूमा एक जिबिपिएस आधारभूत र प्रिमियम तथा ५०० एमबिपिएस क्षमताको इन्टरनेट जडान गरिएको छ। २४ घण्टा प्राप्त गर्न सकिने यस सुविधा आगामी साउन मसान्तसम्म रहने छ”, उनले भने।

काफ्लेका अनुसार यो इन्टरनेट ३२ ओटा वडा कार्यालय, २४ ओटा स्वास्थ्य प्रवर्द्धन केन्द्र बागदरबार, टेकु ट्रान्सफर स्टेसन, महानगर प्रहरी बल (पूर्व क्षेत्र), बग्गीखाना, बसपार्क, सोह्रखुट्टे र कार्यान्वयन एकाइ, बारुण यन्त्र कार्यालय नयाँ सडक, बालाजु र रामहिटी बौद्ध, हनुमानढोका दरबार संरक्षण कार्यक्रम, रानीपोखरी, बसन्तपुर, बालाजु पार्क, शङ्खपार्कलगायत ७१ केन्द्रका लागि खरिद गरिएको हो।

उक्त सेवा प्रवाह गर्नका लागि कामपाले नेपाल टेलिकमसँग सम्झौतासमेत गरिसकेको छ। कामपाको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, बाग्मती प्रदेशका निर्देशक इन्दल यादवले सम्झौतापत्रमा हस्ताक्षर गरेको उनले जानकारी दिए।

यो सेवा २४ सै घण्टा उपलब्ध हुने र सम्झौता २०८३ साउन मसान्तसम्मका लागि रहेको बताईएको छ।

प्रकाशित: २३ कार्तिक २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार