Technology Khabar १३ कार्तिक २०८२, बिहीबार
काठमाडौं ।
शैक्षिक क्षेत्रमा सुशासन पारदर्शिताका लागि डडेलधुराका पालिकाले डिजिटल प्रविधिलाई प्राथमिकतामा सेवा प्रवाह गरिरहेका छन्।
ग्रामीण दुर्गम क्षेत्र भएकाले पालिकासम्म दिनहुँ विद्यालयका प्रधानाध्यापक वा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पदाधिकारी एवं शिक्षक धाउने अवस्थाको अन्त्य गर्न डिजिटल प्रविधिको प्रयोग गरिँदै आएको छ।
शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकले विद्यालय र विद्यार्थीलाई बढी समय उपलब्ध गराउन इमेल, भिडियो कल र फोनबाट बढीभन्दा बढी सूचना आदानप्रदान हुने गरेको शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत गणेशबहादुर पौडेलले जानकारी दिए।
विद्यालयको प्रतिनिधित्वका लागि पालिकामा शिक्षकको भौतिक उपस्थिति हुनै पर्ने बेला मात्रै उपस्थित गराउने रणनीति अपनाइएको भागेश्वर गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत पौडेलले बताए।
उनका अनुसार भागेश्वर गाउँपालिकाले शिक्षा क्षेत्रमा योजना र विद्यालयको लेखा परीक्षण, सामाजिक परीक्षण मापदण्ड अनुसार नै गरिरहेको छ। विद्यालयका प्रधानाध्यापकसँग करार सम्झौता गर्दै आइरहेको छ।
शाखाले सेवा प्रवाह गर्न डिजिटल प्रविधि इमेल, इन्टरनेटमार्फत सेवाको उपयोग गर्ने गरेको छ। विद्यालयबाट हुने माग वा सूचनाको इमेलमार्फत जवाफ पठाइने गरेको छ। सबैभन्दा सहज मोबाइलबाटै धेरै कुरा, सरसल्लाह र काम हुने गरेको उनले बताए। कक्षा ५ को ग्रेससिट अनलाइनमार्फत प्रकाशित गरिँदै आएको उनले बताए।
नवदुर्गा गाउँपालिकाले शैक्षिक गुणस्तर माथि उकास्न कक्षा ८ – १० का विद्यार्थी लाई तीन महिनासम्म निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गर्दै आइरहेको छ। नतिजा शून्य आउने विषयहरू गणित, विज्ञान र अङ्ग्रेजीका अतिरिक्त कक्षा सञ्चालन गर्दै आइरहेको शिक्षा अधिकृत रविकुमार चौधरीले जानकारी दिए।
आजको गोरखापत्रबाट
प्रकाशित: १३ कार्तिक २०८२, बिहीबार