Technology Khabar १२ कार्तिक २०८२, बुधबार
काठमाडौं ।
एडोबीले आफ्नो भिडियो र तस्बिर सम्पादन उपकरणहरू सिधै कुराकानी गरेर नियन्त्रण गर्न सकिने बताएको छ। कम्पनीले ओपनएआईसँग सहकार्य गरिरहेको छ, जसअन्तर्गत प्रयोगकर्ताले च्याटजीपीटी बाटै एडोबीको एउटा एप सिधै नियन्त्रण गर्न सक्नेछन्।
फोटोशप र प्रिमियर जस्ता उपकरणका निर्माता एडोबीले २०२३ मा फायरफ्लाइ नामक सेवा सुरु गरेको थियो, जसले टेक्स्ट प्रम्प्टमार्फत तस्बिर र अन्य सामग्री सिर्जना गर्न सक्थ्यो।
मंगलबार एडोबीका अधिकारीहरूले भने अनुसार, कम्पनीले आफ्ना एपहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सहायकहरूसँग मिलाएर पुनःनिर्माण गरेको छ, जसले प्रयोगकर्तासँग संवाद गरेर सामग्री सिर्जना र सम्पादन गर्न सक्छ। पृष्ठभूमिमा विभिन्न एआई “एजेण्ट” हरूले ठीक मानव सहायकले गर्ने जस्तै एपभित्रका बटन थिच्ने र स्लाइडर चलाउने काम गर्छन्।
तर प्रयोगकर्ताले चाहे ती स्लाइडर र बटनहरू आफैं पनि चलाएर सम्पादन गर्न सक्नेछन्, केवल पाठ संवादमै निर्भर रहनुनपर्ने रोयटर्सले उल्लेख गरेको छ।
एडोबीका डिजिटल मिडिया व्यवसायका प्रमुख प्रविधि अधिकारी एली ग्रिनफिल्डका अनुसार, अब एपहरू एआई सहायकसँग काम गर्न सक्षम भएकाले तिनलाई तेस्रो पक्षका सेवासँग जोड्न सजिलो भएको छ।
कम्पनी अहिले एडोबी एक्सप्रेस एपलाई ओपनएआईको च्याटजीपीटीसँग एकीकृत गर्ने काम गर्दैछ, जसले प्रयोगकर्तालाई च्याटजीपीटी बाटै कुराकानी सुरु गरी नयाँ प्रोजेक्ट बनाउन अनुमति दिनेछ। त्यो प्रोजेक्ट च्याटजीपीटी भित्रै सम्पादन गर्न वा पछि एडोबीका एपहरूमा पूर्ण रूपमा समाप्त गर्न सकिनेछ।
“तपाईं च्याटजीपीटी भित्र एजेण्टले गरिरहेको सम्पादनलाई समायोजन गर्न सक्नुहुन्छ,” ग्रिनफिल्डले भने। “र यदि चाहनुहुन्छ भने, त्यसलाई एक्सप्रेस एपमा लैजान सक्नुहुन्छ, जहाँ तपाईं त्यससँग संवाद जारी राख्दै अब एक्सप्रेसमा निर्मित डिजाइन एजेण्टको मद्दतले सम्पूर्ण सम्पादन उपकरण प्रयोग गर्न सक्नुहुन्छ।”
एडोबीले मंगलबार जनाएको अनुसार एक्सप्रेस एपमा रहेको एआई सहायक अहिले नै उपलब्ध छ, तर च्याटजीपीटी एकीकरण कहिले सुरु हुने भन्ने समयसीमा भने कम्पनीले खुलाएको छैन।
प्रकाशित: १२ कार्तिक २०८२, बुधबार