Technology Khabar १० कार्तिक २०८२, सोमबार
काठमाडौं ।
जापानको नागोयाका ३८ वर्षीय एक पुरुषलाई दुई वर्षको अवधिमा फूड डेलिभरी एपको त्रुटि प्रयोग गरी एक हजारभन्दा बढी पटक निःशुल्क अर्डर लिएको आरोपमा पक्राउ गरिएको छ।
उनले झूटो नाम र ठेगानासहित १२४ वटा खाताहरू बनाए, जसका लागि प्रिपेड कार्ड प्रयोग गरिएका थिए। केही दिनपछि ती खाताहरू बन्द गर्ने गरेकोले प्लेटफर्मले उनको ठगी गतिविधि पहिचान गर्न सकेन। यसरी कम्पनीलाई ३७ लाख येनभन्दा (करिब २२ हजार युरो) बढीको नोक्सानी भएको बताइएको छ।
टेलिग्राफका अनुसार उनी डेमाए–क्यान नामक फूड डेलिभरी एप प्रयोग गर्थे। उनले सम्पर्करहित डेलिभरी विकल्प चयन गर्थे र खाना पुगेपछि “अर्डर नपाएको” दावी गर्दै फिर्ता रकम माग्थे।
उदाहरणका लागि, गत जुलाई ३० मा उनले झूटा नाम र ठेगानासहित नयाँ खाता बनाएर आइस्क्रिम र चिकन स्टेक नआएको भन्दै १६ हजार येन (करिब १०५ डलर) फिर्ता पाएका थिए।
पक्राउ परेपछि हिगासिमोटो नामका ती व्यक्तिले सुरुवातमा परीक्षणका रूपमा यस्तो गरेको तर पछि रोक्न नसकेको बताएका छन्।
यो घटनापछि डेमाए–क्यान एपले असामान्य गतिविधि पत्ता लगाउने र भविष्यमा यस्ता ठगी रोक्ने चेतावनी प्रणाली लागू गरेको छ।
प्रकाशित: १० कार्तिक २०८२, सोमबार