Technology Khabar २ कार्तिक २०८२, आईतवार
काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटमा राष्ट्रिय परिचयपत्रका लागि दुई ठाउँबाट सेवा दिन थालेपछि सेवाग्राहीलाई सहज भएको छ। सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्रको अनिवार्य व्यवस्था गरेपछि केही महिनाअघि सर्वसाधारणको भिड हुने गरेको थियो।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अन्य सर्वसाधारणले दुःख पाउन थालेपछि सेवा विस्तार गरिएको छ। दुई ठाउँबाट अनलाइनमा काम गर्न थालेपछि सेवा प्रवाहमा सहज भएको छ।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार राष्ट्रिय परिचयपत्र बनाउन सहयोग पुऱ्याउन सेवाग्राहीलाई छिटोछरितो सेवा दिन दुई ठाउँमा काम गर्न थालिएको छ।
राष्ट्रिय परिचयपत्रका लागि सात वटा स्थानीय तहबाट सर्वसाधारण आउन थालेपछि समयमा काम नभएको गुनासो बढ्न थालेपछि सेवालाई प्रभावकारी बनाउन एक महिनाअघि दुई ठाउँबाट सेवा दिने व्यवस्था गरेपछि सहज भएको छ।
उनले इलाका प्रशासन कार्यालयबाट अफलाइन, जिल्ला प्रशासन कार्यालयको दुई ठाउँबाट राष्ट्रिय परिचयपत्रका लागि सेवा दिन थालेको बताए।
इलाका प्रशासन कार्याल चड्खेलीमा प्रमुख नहुँदा नागरिकताको प्रमाणपत्र पनि जिल्ला प्रशासन कार्यालयबाट दिने गरिएको छ। राष्ट्रिय परिचयपत्र अफलाइन फाराम सोही ठाउँमा भर्ने व्यवस्था भए पनि अनलाइन इन्ट्री जिल्ला प्रशासन कार्यालयबाट हुने गरेको छ।
इलाका प्रशासन कार्यालय चङ्खेली चार महिनादेखि प्रमुखविहीन भएकाले गृह मन्त्रालयसँग पदपूर्तिका लागि माग गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ।
आजको गोरखापत्रबाट
प्रकाशित: २ कार्तिक २०८२, आईतवार