बझाङको तलकोटमा पनि सञ्चालनमा आयो नेपाल टेलिकमको ‘फोरजी’ सेवा

Technology Khabar ३१ आश्विन २०८२, शुक्रबार

बझाङको तलकोटमा पनि सञ्चालनमा आयो नेपाल टेलिकमको ‘फोरजी’ सेवा
बिङ एआईमार्फत् निर्मित
Global IME Bank

काठमाडौं ।

बझाङको तलकोटमा बिहीबारदेखि नेपाल टेलिकमको ‘फोरजी’ सेवा सुरु भएको छ।

टेलिकमको टुजी र फोरजी सेवाका लागि जिल्लाको–तलकोट गाउँपालिका–४ बुङ्गाडाँडामा बिटिएस टावर जडान कार्य सम्पन्न भएसँगै पहिलो पटक फोरजी सेवा सञ्चालनमा आएको हो। हाल तलकोटमा रहेका टेलिकमका प्रादेशिक निर्देशनालय, अत्तरियाका इञ्जिनियर तिलक धामीका अनुसार बिहीबारदेखि फोरजी सेवा सञ्चालन भएको छ। प्राविधिक समायोजनअनुसार टुजी सेवा शुक्रबारदेखि चरणबद्ध रूपमा हट्दै जानेछ।

जिल्लाको तलकोट वडा नं १ र ४ मा फोरजी सेवा सञ्चालनमा आएको छ भने बाँकी जयपृथ्वी नगरपालिका–१ र ५ तथा छबिस पाथिभरा गाउँपालिका–१ तथा खप्टड छान्ना गाउँपालिकामा पनि छिट्टै फोरजी सेवा सञ्चालन गरिने जनाइएको छ। ती क्षेत्रमा भौतिक संरचना बनिसकेका र बिटिएस उपकरण जडान भएपछि सेवा सञ्चालन हुने टेलिकमले जनाएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको समन्वय र ताकेतापछि तलकोटमा फोरजी सञ्चालनमा आएको हो। मन्त्री खरेलले दुर्गम क्षेत्रमा टेलिकमको पहुँच सहज बनाउन टेलिकम लागिपरेको र आफूले पनि त्यसलाई विशेष प्राथमिकता दिएको उल्लेख गरे।

उनले बझाङ, बाजुरा, जाजरकोटलगायत दुर्गम जिल्लाको टेलिफोन र इन्टरनेट सेवा विस्तार तथा सेवा गुणस्तर अभिवृद्धिका लागि टेलिकमका सम्बन्धित कार्यालयलाई बारम्बार ताकेता गरिरहेको बताए।

तलकोट वडा नं ४ का वडाध्यक्ष गोरखबहादुर जेठाराले गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा आएको जानकारी दिए। उनले फोरजी सेवा सञ्चालनमाा आएसँगै स्थानीयवासीलाई आपत्कालीन सम्पर्क, दैनिकी कारोबार तथा पारिवारिक सन्देश आदानप्रदानमा सहज हुने उल्लेख गरे।

जिल्लाको पूर्वी तथा उत्तरी भागमा अवस्थित तलकोट गाउँपालिका जिल्ला सदरमुकामसँग जोडिएको गाउँपालिका हो। यसअघि सञ्चारमन्त्रीको समन्वय र ताकेतापछि जाजरकोटको बारेकोटमा दुई हप्तादेखि अवरुद्ध टेलिफोन सेवा प्राविधिक मर्मतपछि सञ्चालन भएको थियो।

सञ्चारमन्त्री खरेलले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशमा सेवा विस्तारको कामलाई विषेश प्राथमिकता दिन सम्बन्धित निकायलाई ताकेता र आवश्यक निर्देशन दिइसकेका छन्।-रासस

प्रकाशित: ३१ आश्विन २०८२, शुक्रबार

Sajilo Visa
तपाइको प्रतिक्रिया