Technology Khabar ३१ आश्विन २०८२, शुक्रबार
काठमाडौं ।
एप्पलले बुधबार नयाँ एम५ चिपको घोषणा गर्दै यसले सञ्चालित नयाँ आईपड प्रो, म्याकबुक प्रो र भिजन प्रो सार्वजनिक गरेको छ। यी सबै उपकरणहरू हाल प्रि-अर्डरका लागि उपलब्ध छन् र अक्टोबर २२ देखि वितरण सुरु हुने अपेक्षा गरिएको छ।
एम५ चिपले नयाँ उपकरणहरूलाई अघिल्ला पुस्ताभन्दा धेरै छिटो चलाउन सक्षम बनाउने कम्पनीको दावी छ। एप्पलका वरिष्ठ उपाध्यक्ष जोहनी सरोजीका अनुसार, नयाँ चिपले “एप्पल सिलिकनको एआई प्रदर्शनमा अर्को ठूलो फड्को” ल्याएको छ। कम्पनीका अनुसार, एम५ चिपको जीपीयू प्रदर्शन एम४ भन्दा चार गुणा बढी छ।
नयाँ आईपड प्रो मा यो चिपले गत वर्षको प्रो मोडेलभन्दा ३.५ गुणा र एम१ चिप भएका पुराना मोडेलभन्दा ५.६ गुणा बढी एआई प्रदर्शन प्रदान गर्ने बताइएको छ।
टेकक्रञ्चका अनुसार यसमा एप्पलको नयाँ सी१एक्स सेलुलर मोडेम समावेश गरिएको छ, जसले ५० प्रतिशतसम्म छिटो मोबाइल डाटा गति प्रदान गर्छ।वाईफाई, ब्लुटुथ र थ्रेड कनेक्टिभिटीका लागि एन१ चिप पनि राखिएको छ। नयाँ आईपड प्रो मा स्टोरेज पढ्ने र लेख्ने गति बढाइएको छ, र चार्जिङ गति पनि करिब ३० मिनेटमा ५० प्रतिशतसम्म सुधारिएको छ।
एप्पलले ट्याब्लेटलाई ल्यापटपजस्तै शक्तिशाली बनाउन लक्ष्य राखेकाले यो अपडेट स्वाभाविक मानिएको छ। आईपडओएस २६ सँगै अब यो ट्याब्लेटमा अझ सहज विन्डो प्रदर्शन, ‘प्रिभ्यू’ एप र फोल्डर बनाउने सुविधा पनि उपलब्ध हुनेछ।
११ इन्च मोडेलको सुरुवाती मूल्य ९९९ डलर र १३ इन्चको १,२९९ डलर तय गरिएको छ। दुवै कालो र सेतो रंगमा उपलब्ध छन्।
नयाँ १४ इन्च म्याकबुक प्रो अघिल्लो संस्करणभन्दा अझ छिटो रहेको बताइएको छ। यसमा ग्राफिक्स प्रदर्शन १.६ गुणा सुधारिएको, मेमोरी ब्यान्डविथ १२० जीबी प्रतिसेकेन्ड बाट बढेर १५३ जीबी प्रतिसेकेन्ड पुगेको र स्टोरेज गति पनि उन्नत गरिएको छ।
यसको ब्याट्री आयु २४ घण्टासम्म रहने बताइएको छ। सुरुवाती मूल्य १,५९९ डलर छ र यो स्पेस ब्ल्याक र सेतो रंगमा उपलब्ध हुनेछ।
भिजन प्रो मा पनि अब नयाँ एम५ चिप प्रयोग गरिनेछ, जसले पुरानो एम२ चिपलाई प्रतिस्थापन गर्नेछ।
नयाँ चिपले डिस्प्ले रेन्डरिङमा १० प्रतिशत सुधार ल्याएको, रिफ्रेश रेट १०० हर्जबाट बढाएर १२०हर्ज पुर्याएको र एआई-सञ्चालित सुविधाहरूलाई ५० प्रतिशत छिटो बनाएको एप्पलले जनाएको छ। साथै, ब्याट्री आयु ३० मिनेटले बढेको छ, जसले अब २.५ घण्टा सामान्य प्रयोग र ३ घण्टा भिडियो हेर्न सकिनेछ।
अपग्रेड गरिएको भिजन प्रो मा प्रयोगकर्ताको सहजताको लागि नयाँ डुअल निट ब्याण्ड दिइएको छ, जसका साइज साना, मध्यम र ठूला उपलब्ध छन्। यसको मूल्य ३,४९९ डलर नै कायम गरिएको छ।
यो घोषणा एप्पलले भर्चुअल रियालिटी हेडसेटमा सुधार ल्याउनेभन्दा स्मार्ट चश्मा विकासतर्फ ध्यान केन्द्रित गरिरहेको खबर सार्वजनिक भएको केही दिनमै गरिएको हो।
प्रकाशित: ३१ आश्विन २०८२, शुक्रबार