Technology Khabar २९ आश्विन २०८२, बुधबार
काठमाडौं ।
नेपाल मेडिकल काउन्सिलको वेबसाइटमा अनधिकृत पहुँच भएको पुष्टि भएको छ। काउन्सिलले एक विज्ञप्ति जारी गरेर गत २६ असोज दिउँसो २ बजेदेखि वेबसाइट ह्याक भएको जानकारी दिएको हो।
‘आज मिति २०८२ असोज २६ गते दिनको २.०० बजेदेखि नेपाल मेडिकल काउन्सिलको वेभसाईटमा अनाधिकृत पहुँच (Malicious or unauthorized acess) भएको जानकारी भएकोले काउन्सिलको सर्भरलाई तत्कालै डाउन गरी सर्भर स्क्यानिङको कार्य भईरहेको हुँदा काउन्सिलबाट प्रवाह हुने अनलाईन सम्बन्धी सम्पूर्ण सेवा सुविधाहरु हाललाई उपलब्ध गराउन नसकिने जानकारी गराईन्छ। समस्या समाधान भएपश्चात पुनः सुचना मार्फत जानकारी गराईनेछ। काउन्सिलको सर्भरमा रहेका सम्पूर्ण अभिलेखहरु सुरक्षित रहेको समेत जानकारी गराईनेछ। यसबाट सेवाग्राहीलाई पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौ‘, सूचनामा उल्लेख छ।
काउन्सिलका रजिष्ट्रार डा. सतीश कुमार देवका अनुसार वेबसाइट ह्याक भए पनि काउन्सिलको महत्वपूर्ण डाटा सुरक्षित रहेको छ। उनका अनुसार केही डाटा एक्स्ट्र्याक्सनको प्रयास भएको देखिए पनि सम्पादन वा परिवर्तन गरिएको कुनै प्रमाण फेला परेको छैन।
काउन्सिलले ह्याकरको पहिचान र आईपी एड्रेस ट्रेस गर्ने प्रक्रिया पनि जारी रहेको बताएको छ। प्रारम्भिक अनुसन्धानमा केही फाइलहरू प्रभावित भएको देखिए पनि डाटा सम्पादन गरिएको प्रमाण भने भेटिएको छैन। यस घटना सम्बन्धमा साइबर ब्युरोले फरेन्सिक प्रमाणका आधारमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

प्रकाशित: २९ आश्विन २०८२, बुधबार