Technology Khabar २७ आश्विन २०८२, सोमबार
काठमाडौं ।
यात्रुलाई वर्षा, बाढीपहिरो, दुर्घटना, अवरोध जस्ता घटनाको पूर्वसूचना दिने उद्देश्यले बिपी राजमार्गमा जडान गरिएका आपत्कालीन सूचना प्रणाली बिग्रिएर बर्सौंदेखि प्रयोगमा आउन सकेका छैनन्।
यात्रा गर्नुअघि बिपी राजमार्गको अवस्था के कस्तो छ? भनी पूर्वसूचना दिने उद्देश्यले धुलिखेल सिन्धुलीमा जडान गरिएका इन्टरनेट जडित उक्त सूचना प्रणाली बिग्रिएर बसौँदेखि थन्किएका छन्।
जाइकाले बिपी राजमार्ग निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने बेलामा विसं २०७२ मै राजमार्गमा उक्त प्रणाली जडान गरेको स्थानीयले बताएका छन्।
उक्त राजमार्ग अन्तर्गत सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीस्थित नापी कार्यालयअगाडि जडान गरिएको आपत्कालीन सूचना प्रणाली बिग्रिएको बसौँ भइसकेको स्थानीय बासिन्दा लालबहादुर थापा बताउँछन्।
उनले भने, “राजमार्ग बनेर नेपाल सरकारलाई हस्तान्तरण गरेको केही वर्ष पछिसम्म उक्त प्रणालीले काम गरेको देखिन्थ्यो। अहिले त धेरै भइसक्यो, बिग्रिएको देखिन्छ।”
पछिल्लो समयमा बिपी राजमार्ग बाढीपहिरोले अवरुद्ध भइरहेका बेला उक्त प्रणालीको आवश्यकता महसुस देखिएको उनको भनाइ छ। जापान बिपी सरकारको अनुदान सहयोगमा २०५२ सालदेखि झन्डै दुई दशक समय अवधिमा निर्माण भएको बिपी राजमार्गमा नेपालमै पहिलो पटक आपत्कालीन सूचना प्रणाली जडान भएको हो।
उक्त राजमार्गमा वर्षा, पहिरो, दुर्घटना, अवरोध जस्ता आपत्कालीन घटनाबारे सवारीधनी र यात्रुलाई अग्रिम जानकारी दिने उद्देश्यले इन्टरनेट जडित उक्त प्रणाली जडान गरिएको हो।
उक्त प्रणाली मर्मत गरी सञ्चालनमा आएमा धुलिखेलदेखि बर्दीबाससम्मको १६० किलोमिटर लम्बाइ बिपी राजमार्गमा वर्षा, पहिरो, दुर्घटना, अवरोध जस्ता आपत्कालीन घटनाबारे घरमै बसेर जानकारी लिन सकिने सरोकारवाला बताउँछन्।
सूर्यविनायक-धुलिखेल सडक आयोजना प्रमुख विजय महतोले एक महिनाअघि आफू सडक विभागको सूचना प्रविधि शाखामा रहँदा बिपी राजमार्गमा जडान भएका ती आपत्कालीन सूचना प्रणाली सञ्चालनमा ल्याउन धेरै काम अघि बढेको बताए।
“म यहाँ सरुवा भएर आएको एक महिना भयो,” उनले भने, “म एक महिनाअघिसम्म विभागको सूचना प्रविधि शाखामा थिए। मैलै उक्त प्रणालीलाई सञ्चालनमा ल्याउन टिप्पणी उठाउनेदेखिको काम गरेर धेरै प्रयास गरेको थिएँ।”
त्यसको सर्भर सडक विभागमा आउनुपर्नेमा अझै निजी परामर्शदातासँगै रहेको छ। आपत्कालीन सूचना प्रणाली अहिले पृथ्वी राजमार्गसहित चार वटा राजमार्गमा पनि जडान गरिएको छ।
आजको गोरखापत्रबाट
प्रकाशित: २७ आश्विन २०८२, सोमबार