Technology Khabar २६ आश्विन २०८२, आईतवार
काठमाडौं ।
अवैधरुपमा आयातित ईलेक्ट्रिक सिगरेट (भेप्स) मा रहेको ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ बराबर मूल्यको सुन वेचबिखन गरेको आरोपमा नेकपा (माओवादी केन्द्र) का पूर्व नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महरालाई पक्राउ गरिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोले आईतबार एक प्रेस विज्ञप्ती जारी गरी भन्सार ऐन, २०६४ तथा संगठित अपराध कसूरमा नेकपा (माओवादी केन्द्र) का पूर्व नेता कृष्ण बहादुर महरालाई पक्राउ गरेको बताएको हो।
महरालाई आईतबार (मिति २०८२/०६/२६ गते) पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको ब्यूरोका सूचना अधिकारी शिव कुमार श्रेष्ठले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छन्।
२०७९/०९/१० गते फ्लाइ दुबईको फ्लाइट नम्बर एफजेड ०५८७ बाट नेपाल आएका चिनिया नागरिक ली हानसोङ (राहदानी नं. इजे ६३५००३० वाहक) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौं हुँदै नेपालमा अवैधरुपमा २ वटा सुटकेश भित्र ७३ बट्टामा रहेको ७३० थान ईलेक्ट्रिक सिगरेट (भेप्स) ल्याउदै गरेको अवस्थामा पक्राउमा परेका थिए।
चिनियाँ नागरिक ली हानसोङले अबैध रुपमा ल्याएको ईलेक्ट्रिक सिगरेट (भेप्स) जफत गरेसँगै त्रिभुवन विमानस्थल भन्सार कार्यालयको स्टोरमा राखिएको थियो।
“त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कार्यालयका नायव सुब्बा रेवन्त खड्काले आफ्नो जिम्मा र संरक्षणमा रहेको नेपाल सरकारको गोदाम (स्टोर) बाट दुईवटा सुटकेश भित्र ७३ बट्टामा रहेको ७३० थान (सुन सहितको) ईलेक्ट्रिक सिगरेट (भेप्स) मा रहेको आठ करोड पचपन्न लाख अठ्ठाईस हजार तीन सय चौहत्तर रुपैयाँ बराबरको सुन वेचबिखन गरी आपराधिक समूह बनाई संगठित रुपमा आपराधिक लाभ लिएको देखिएको,” विज्ञप्तिमा भनिएको छ।
चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप महरामाथि लाग्दै आएको छ। भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा यसअघि २०७९ मै अनुसन्धानमा तानिएका थिए।
प्रकाशित: २६ आश्विन २०८२, आईतवार