बग बाउण्टीको रकम दोब्बर बनाउँदै एप्पल

Technology Khabar २७ आश्विन २०८२, सोमबार

काठमाडौं ।

एप्पलले यस नोभेम्बरमा आफ्नो सेक्युरिटी बाउण्टी कार्यक्रम अपडेट गर्दै उद्योगकै उच्च पुरस्कारहरू प्रस्ताव गर्ने भएको छ। कम्पनीले बिना प्रयोगकर्ता हस्तक्षेप “उन्नत भाडाका स्पाइवेयर आक्रमणहरूजस्तै लक्ष्य हासिल गर्न सक्ने एक्सप्लोइट चेइन” पत्ता लगाउने शोधकर्ताका लागि शीर्ष पुरस्कार १० लाख डलरबाट बढाएर २० लाख डलर पुर्‍याएको छ।

तर बीटा सफ्टवेयरका कमजोरी र लकडाउन मोड बाइपासजस्ता गम्भीर कमजोरी पत्ता लगाउने अवस्थामा पुरस्कार ५० लाख डलरभन्दा बढी हुन सक्छ। लकडाउन मोड सफारी ब्राउजरको उन्नत सुरक्षा संरचना हो।

त्यसका साथै, एक क्लिक प्रयोगकर्ता हस्तक्षेप आवश्यक पर्ने एक्सप्लोइट चेइन पत्ता लगाउँदा अब २ लाख ५० हजार डलरको सट्टा अधिकतम १० लाख डलरसम्म पुरस्कार पाइनेछ।

यस्तै, यन्त्र नजिक रहेर गरिने आक्रमणका लागि पुरस्कार पनि २ लाख ५० हजार डलरबाट बढाएर १० लाख डलर पुर्‍याइएको छ, जबकि लक गरिएको यन्त्रमा शारीरिक पहुँच आवश्यक पर्ने आक्रमणका लागि अधिकतम पुरस्कार दोब्बर भई ५ लाख डलर भएको इन्ग्याजेटले उल्लेख गरेको छ।

अन्ततः, “वेबकन्टेन्ट कोड एक्सिक्युसन र स्यान्डबक्स इस्केप एकसाथ प्रदर्शन गर्ने” शोधकर्ताले अधिकतम ३ लाख डलरसम्म पुरस्कार पाउनेछन्।

एप्पलका सुरक्षा इन्जिनियरिङ र आर्किटेक्चरका उपाध्यक्ष इवान क्रस्टिकले वायर्डसँग बताएका अनुसार एप्पलले पछिल्ला केही वर्षमा कार्यक्रम सुरु र विस्तार गरेपछि ८०० भन्दा बढी सुरक्षा शोधकर्तालाई करिब ३५ लाख डलर वितरण गरिसकेको छ। उनका अनुसार, सबैभन्दा उच्च पुरस्कार निकै दुर्लभ भए पनि एप्पलले धेरै पटक ५ लाख डलरका पुरस्कार प्रदान गरेको छ।

प्रकाशित: २७ आश्विन २०८२, सोमबार

तपाइको प्रतिक्रिया