अमेरिकी सेनालाई आवश्यक सामग्री अन्तरिक्षमा तुरुन्तै पुर्याउन नयाँ निजी विमान ‘आर्क’ तयार

  • Technology Khabar | २२ आश्विन २०८२, बुधबार
अमेरिकी सेनालाई आवश्यक सामग्री अन्तरिक्षमा तुरुन्तै पुर्याउन नयाँ निजी विमान ‘आर्क’ तयार

काठमाडौं ।

अमेरिकी सेनालाई आवश्यक सामग्री आवश्यक परेको ठाउँमा छिटो पु-याउन नयाँ निजी अन्तरिक्षयान तयार गरिएको छ।

बुधबार (अक्टोबर १) क्यालिफोर्नियास्थित कम्पनी इन्भर्जनले “आर्क” नामक यान सार्वजनिक गरेको छ, जसलाई कक्षीय गोदाम र तीव्र आपूर्तिको प्रणालीको रूपमा डिजाइन गरिएको छ। यो यानले पृथ्वीको जुनसुकै ठाउँमा पनि एक घण्टाभन्दा कम समयमा आवश्यक सामाग्री पुर्‍याउन सक्छ।

“इन्भर्जन” का प्रमुख कार्यकारी अधिकृत तथा सह-संस्थापक जस्टिन फियासचेत्तीले बुधबार जारी विज्ञप्तिमा भनेका छन्, “फेरि प्रवेशको क्रममा लामो दूरी तय गर्न सक्ने क्षमता र हरेक चरणमा उच्च नियन्त्रण क्षमतासहित आर्कले यस्तो ढुवानी क्षमता प्रदान गर्छ, जुन पहिले कहिल्यै सम्भव भएको थिएन। हामी भविष्यमा सयौँ आर्क अन्तरिक्षयानहरूले अमेरिकी सेना र उसका सहयोगीहरूका लागि पहुँच, स्थायित्व र प्रतिरोध क्षमतामा रूपान्तरण ल्याउने विश्वव्यापी नेटवर्क बनाउने देख्छौं।”

कम्पनीको जानकारी अनुसार आर्क पुनःप्रयोग गर्न सकिने, स्वचालित अन्तरिक्षयान हो, जसको लम्बाइ करिब ८ फिट र चौडाइ ४ फिट (२.४ बाई १.२ मिटर) छ। यो यानले पृथ्वीमा फर्किँदा प्यारास्युटको सहायताले ठ्याक्कै लक्ष्य स्थानमा अवतरण गर्न सक्ने गरी डिजाइन गरिएको छ। आर्कले अन्तरिक्षलाई नयाँ आपूर्ति क्षेत्रको रूपमा प्रयोग गर्ने सम्भावना खोल्ने कम्पनीले जनाएको छ जसले अभूतपूर्व गति र विश्वव्यापी पहुँच प्रदान गर्नेछ।

इन्भर्जनका अनुसार आर्क अन्य प्रयोगका लागि पनि उपयुक्त छ। यो ध्वनिको गतिभन्दा २० गुणा बढी गतिमा उड्न सक्षम भएकाले हाइपरसोनिक प्रविधिको परीक्षणका लागि पनि प्रयोग गर्न सकिने बताइएको छ।

आर्क अहिलेसम्म अन्तरिक्षमा गएको छैन, तर इन्भर्जनको प्राविधिक परीक्षण यान “रे” यसअघि यो वर्ष जनवरीमा स्पेसएक्सको ट्रान्सपोर्टर१२ मिशनमार्फत कक्षमा पुगेको थियो।

यद्यपि रे अपेक्षा अनुसार पृथ्वीको वायुमण्डलमा फर्किन सकेन, इन्भर्जनले यसलाई सफल मान्दै कक्षमा धेरै महत्वपूर्ण प्रविधिहरू परीक्षण गर्न सफल भएको जनाएको छ।

उक्त सफलताले आर्कको मार्ग प्रशस्त गरेको कम्पनीले बताएको छ। योजना अनुसार आर्क सन् २०२६ मा आफ्नो पहिलो अन्तरिक्ष उडान गर्नेछ। सह-संस्थापक तथा प्राविधिक प्रमुख अस्टिन ब्रिग्सले भनेका छन्, “हामीले आर्कको पहिलो मिसनका लागि पूरा ढाँचा विकास गरेका छौं, मिशन प्रोफाइल तयार पारिसकेका छौं, र दर्जनौँ ड्रप परीक्षण गरेर ठ्याक्कै अवतरण सुनिश्चित गरेका छौं।”

उनका अनुसार कम्पनीले उन्नत एरोडाइनामिक मोडेलिङ, विस्तृत कम्पोनेन्ट डिजाइन सम्पन्न गरेको छ र नासासँग मिलेर अत्यधिक पुनःप्रवेश तापक्रमका लागि नयाँ थर्मल प्रोटेक्सन प्रणाली विकास गरेको छ।

क्यालिफोर्नियाकै अर्को कम्पनी भार्दा स्पेसले पनि औषधि र अन्य उत्पादनका लागि साना अन्तरिक्ष कारखाना बनेका क्याप्सुलहरू प्रक्षेपण गरिसकेको छ, जस मध्ये तीन पृथ्वीमा सफलतापूर्वक फर्किएका छन्। त्यस्तै आउटपोस्ट नामक कम्पनीले पनि पुनःप्रयोग गर्न मिल्ने कक्षीय शिपिङ कन्टेनरमार्फत पृथ्वीको जुनसुकै ठाउँमा ९० मिनेटभित्र आपूर्ति पुर्‍याउने लक्ष्य लिएको छ।

प्रकाशित: २२ आश्विन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Government making efforts to settle dispute over arrears of ISPs

  • Technology Khabar
  • २२ आश्विन २०८२, बुधबार