Technology Khabar २३ आश्विन २०८२, बिहीबार
काठमाडौं ।
मेटाले मंगलबार फेसबुकको नयाँ एल्गोरिदम अपडेट घोषणा गरेको छ जसले प्रयोगकर्ताको रुचिअनुसार थप ‘रिल्स’ भिडियो देखाउनेछ।
यो अपडेटमा प्रयोगकर्तालाई आफूले हेर्ने भिडियोमाथि अझ बढी नियन्त्रण दिने सुविधा, एआईबाट चल्ने खोज सुझाव, र नयाँ ‘फ्रेन्ड बबल्स’ पनि समावेश छन्।
अब प्रयोगकर्ताले मन नपरेका भिडियोहरू सजिलै लुकाउन सक्नेछन्। कुनै रिलमा “नट इन्ट्रेस्टेड” चयन गर्न वा कमेन्टलाई फ्ल्याग गर्न सकिनेछ, जसका आधारमा सिफारिस प्रणालीले प्रयोगकर्ताको प्रतिक्रिया अनुसार सामग्री अनुकूल बनाउनेछ।
टेकक्रञ्चका अनुसार “सेभ” फिचर पनि परिमार्जन गरिएको छ, जसले मनपर्ने रिल्स र पोस्टहरू एउटै ठाउँमा सजिलै सङ्कलन गर्न सकिने बनाएको छ।
यी परिवर्तनहरूले प्रयोगकर्ताहरूको असन्तुष्टिलाई केही हदसम्म सम्बोधन गर्ने अपेक्षा गरिएको छ। धेरै प्रयोगकर्ताले ठगीजन्य, झर्को लाग्ने वा कम गुणस्तरका एआई-निर्मित रिलहरूबारे गुनासो गर्दै आएका छन्। मेटाले हालै मात्र आफ्नो एआई एपमा “भाइब्स” नामक छोटा भिडियो फिड सुरु गरेको छ, जसमा केवल एआई-निर्मित सामग्री देखाइन्छ।
नयाँ एल्गोरिदमले नयाँ सामग्रीलाई प्राथमिकता दिनेछ। कम्पनीका अनुसार, अब प्रयोगकर्ताले स्क्रोल गर्दा त्यसै दिन अपलोड गरिएका रिल्समध्ये ५० प्रतिशत बढी हेर्ने अवसर पाउनेछन्।
फेसबुक रिल्समा अब एआई-आधारित खोज सुझाव पनि देखाइनेछ। यी सुझावहरूले टिकटक भिडियोको तल देखिने सुझावहरूजस्तै प्रयोगकर्ताको रुचिसँग सम्बन्धित विषयमा थप सामग्री खोज्न सिफारिस गर्नेछन्।
त्यसैगरी, रिल्स र मुख्य फिडमा नयाँ ‘फ्रेनड बबल्स’ पनि देखिनेछन्, जसबाट प्रयोगकर्ताले आफ्ना साथीहरूले कुन पोस्ट मन पराएका हुन् भनेर थाहा पाउनेछन्। प्रयोगकर्ताले साथीको प्रोफाइल फोटोमा क्लिक गरेर सोही साथीलाई सिधा सन्देश पठाउन सक्नेछन्।
प्रकाशित: २३ आश्विन २०८२, बिहीबार