Technology Khabar १९ आश्विन २०८२, आईतवार
काठमाडौं ।
विश्वकै अग्रणी क्रिप्टोकरेन्सी बिटक्वाइन आइतबार नयाँ रेकर्ड उचाइमा पुगेको छ। यसको मूल्य एक लाख २५ हजार अमेरिकी डलरभन्दा माथि पुगेको छ। बिटक्वाइनको मूल्य एक लाख २५ हजार ६८९ डलरसम्म उक्लिएको छ। यसले यसअघि गत अगस्टमा कायम गरिएको एक लाख २४ हजार ५०० डलरको रेकर्डलाई तोडेको छ।
अमेरिकी सरकारको सटडाउनबारे लगानीकर्ताहरूमा देखिएको अनिश्चितता र सतर्कताले बिटक्वाइनको मूल्यमा बलियो वृद्धि ल्याएको विश्लेषकहरूले बताएका छन्।
ब्लुमबर्ग न्युजका अनुसार अमेरिकी सेयर बजारमा हालै देखिएको लाभले पनि बिटक्वाइनको वृद्धिलाई थप ऊर्जा दिएको छ। लगानीकर्ताहरू अहिले सङ्घीय सरकारका कोषसम्बन्धी वार्ता जारी रहँदा सुरक्षित सम्पत्तिको खोजीमा छन् र बिटक्वाइन त्यसको प्रमुख विकल्प बन्दै गएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवार पनि क्रिप्टोकरेन्सीका ठूला समर्थकका रूपमा परिचित छन्। उनीहरू विभिन्न क्रिप्टो परियोजनाहरूमा संलग्न रहँदै आएका छन् जसले उनीहरूको सम्पत्ति वृद्धि गर्न मद्दत गरेको मानिन्छ।
ट्रम्प प्रशासनले डिजिटल सम्पत्तिप्रतिको समर्थनका माध्यमबाट आफ्नो डेमोक्रेटिक पूर्ववर्ती जो बाइडेनको सरकारअन्तर्गत क्रिप्टो उद्योगमाथि देखिएको संदेहपूर्ण दृष्टिकोण उल्ट्याएको हो। अमेरिकी कंग्रेसले यसै वर्ष जुलाईमा तीन ऐतिहासिक क्रिप्टोकरेन्सी विधेयक पारित गरेको थियो।
यी नियामक सुधारहरूले बिटक्वाइनको मूल्य वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेका विश्लेषकहरूको भनाइ छ।
क्रिप्टो प्राइम ब्रोकरेज कम्पनी फाल्कनएक्सका बजार विभागका सह–प्रमुख जोशुआ लिमले ब्लुमबर्ग न्युजसँग कुरा गर्दै भने, “इक्विटी, सुन र पोकेमोन कार्डजस्ता सम्पत्तिहरू सबै ऐतिहासिक उच्चस्तरमा पुगेका बेला बिटक्वाइनले डलर कमजोर भएको कथाबाट फाइदा उठाउनु कुनै आश्चर्य होइन।”-रासस/एएफपी
प्रकाशित: १९ आश्विन २०८२, आईतवार