Technology Khabar १९ आश्विन २०८२, आईतवार
काठमाडौं ।
डच अदालतले बिहीबार मेटा प्लेटफर्म्सलाई फेसबुक र इन्स्टाग्राम प्रयोगकर्तालाई प्रोफाइलिङमा आधारित नभएको टाइमलाइनका लागि सजिलो विकल्प उपलब्ध गराउन आदेश दिएको छ।
अदालतले दुवै प्लेटफर्मको डिजाइनका केही अंश युरोपेली संघको डिजिटल सर्भिसेज ऐनसँग मेल नखाने जनाएको छ। उसले मेटालाई प्रयोगकर्ताले सिफारिस गरिएको सामग्री बिना “प्रत्यक्ष र सरल” तरिकाले टाइमलाइन रोज्न सक्ने सुविधा दुई साताभित्र दिनुपर्ने आदेश दिएको छ।
रोयटर्सका अनुसार अदालतले प्रयोगकर्ताले छनोट गरेको कालानुक्रमिक वा अन्य गैर-प्रोफाइल्ड टाइमलाइन कायम रहनुपर्ने समेत ठहर गरेको छ।
अदालतले हालको अभ्यास, जसमा प्रयोगकर्ता एप वा वेबसाइट बन्द गर्दा स्वतः प्रोफाइल्ड टाइमलाइनमा फर्काइन्छ, निषेधित “डार्क प्याटर्न” भएको र सूचनाको स्वतन्त्रताको अधिकारमा हस्तक्षेप गर्ने जनाएको छ। “नेदरल्यान्डका मानिसहरू प्रोफाइल्ड सिफारिस प्रणालीको प्रयोगबारे स्वतन्त्र र स्वतः निर्णय लिन पर्याप्त सक्षम छैनन्,” अदालतले भनेको छ।
अदालतले यी विकल्पहरू नेदरल्यान्डमा अक्टोबर २९ मा हुने आमनिर्वाचनको सन्दर्भमा पनि महत्वपूर्ण भएको उल्लेख गरेको छ।
मेटाले पुनरावेदन गर्ने
मेटाका प्रवक्ताले कम्पनीले यो फैसला विरुद्ध अपील गर्ने बताएका छन्।
“हामीले डीएसए (युरोपेली संघको डिजिटल सर्भिसेज ऐन) अन्तर्गतका कानुनी दायित्व पूरा गर्न प्रणालीमा महत्वपूर्ण परिवर्तन गरेका छौँ, र नेदरल्यान्डका प्रयोगकर्तालाई व्यक्तिगतिकरणबिना कसरी हाम्रो प्लेटफर्म प्रयोग गर्न सकिन्छ भन्नेबारे जानकारी गराएका छौँ,” उनले भनेकी छन्।
कम्पनीले यस विषय युरोपेली आयोग र त्यहाँका नियामकहरूको भएको र व्यक्तिगत देशका अदालतहरूको नभएको जनाएको छ। “यस्ता कार्यवाहिहरूले डिजिटल सिंगल मार्केट र त्यसलाई आधार दिने नियामक ढाँचालाई नै खतरामा पार्छन्,” उनले भनिन्।
यो मुद्दा दायर गर्ने डच डिजिटल अधिकारसम्बन्धी समूह ‘बिट्स अफ फ्रीडम’ ले फैसला स्पष्ट भएको बताउँदै मेटाले प्रयोगकर्ताको छनोटलाई सम्मान गर्नुपर्ने जनाएको छ। “केही अमेरिकी प्रविधि अर्बपतिहरूले हामी संसारलाई कसरी हेर्छौं भन्ने निर्धारण गर्नु अस्वीकार्य छ,” समूहका प्रवक्ता मार्त्जे क्नापले भने।
प्रकाशित: १९ आश्विन २०८२, आईतवार