काठमाडौं महानगरले तिहारअघि नै सामुदायिक विद्यालयहरुमा एक हजारभन्दा बढी स्मार्ट बोर्ड जडान गर्ने

Technology Khabar ९ आश्विन २०८२, बिहीबार

काठमाडौं महानगरले तिहारअघि नै सामुदायिक विद्यालयहरुमा एक हजारभन्दा बढी स्मार्ट बोर्ड जडान गर्ने
बिङ एआई क्रियटरमार्फत् सिर्जना गरिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

लामो समयदेखि रोकिएको काठमाडौं महानगरको स्मार्ट कक्षाकोठा निर्माण कार्य अन्ततः सम्पन्न हुने चरणमा पुगेको छ। महानगरका मेयर बालेन्द्र साहले आफ्नो आधिकारिक फेसबुक पेजमा स्टाटस राख्दै यसबारे जानकारी दिएका हुन्।

उनका अनुसार पछिल्ला दुई वर्षदेखि विभिन्न कारणले ढिलाइ भए पनि हालसम्म १७७ ओटा पुराना स्मार्ट बोर्ड र पछिल्लो ठेक्काबाट थपिएका ३१३ ओटा बोर्डसहित जम्मा ४९० वटा स्मार्ट बोर्ड सञ्चालनमा आइसकेका छन्।

यससँगै थप ५७० वटा स्मार्ट बोर्डका लागि बजेट सम्बन्धित विद्यालयमा निकासा भइसकेको छ। काठमाडौं महानगरका ८७ वटा विद्यालयमा आवश्यक १,०६० वटा स्मार्ट बोर्ड तिहारअघि नै जडान गरिने योजना रहेको छ। यसपछि सम्पूर्ण कक्षाकोठा स्मार्ट कक्षाकोठामा परिणत हुनेछन्।

स्मार्ट कक्षाकोठा सञ्चालनमा आएपछि सामुदायिक विद्यालयका करिब ५३ हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। महानगरले बालबालिकाको भविष्यलाई प्राथमिकतामा राख्दै गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित: ९ आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया