Technology Khabar ८ आश्विन २०८२, बुधबार
काठमाडौं ।
हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ। जनताको घरआँगनमै पुगेर राष्ट्रिय परिचयपत्र सङ्कलन गरी वितरण गर्न थालेको हो।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको टोलीले दुर्गम गाउँबस्तीमा पुगेर राष्ट्रिय परिचयपत्र सङ्कलन सुरु गरेको प्रमुख जिल्ला टेकबहादुर रेग्मीले बताए। मङ्गलबारबाट अदानचुली गाउँपालिका-२ को श्रीनगर गल्बाबाडाबाट राष्ट्रिय परिचयपत्र सङ्कलन तथा वितरण सुरु गरेको हो।
परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय सिमकोटसम्म जाँदा नागरिकको मोटो रकम खर्च हुनुका साथै समयसमेत धेरै लाग्ने भएकाले शिविर सञ्चालन गरिएको जानकारी उनले दिए।
यतिबेला परिचयपत्र २ नं. वडा कार्यालय, गाउँपालिकाको कार्यालय र मष्टादेव आधारभूत विद्यालयबाट प्रविष्ट गरेर वितरण गरिएको छ। पालिकामा परिचयपत्र बनाउने नागरिकको चाप बढ्न थालेपछि तीन जनालाई थप गरी चार जनाको टोलीले परिचयपत्र वितरण गर्न थालेको छ।
पछिल्लो समय नेपाल सरकारले सबै निकायमा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेपछि नागरिकलाई सास्ती भइरहेको
समयमा अदानचुली गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय हुम्लालाई आग्रह गरेपछि राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरेको अदानचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप भण्डारीले बताए।
राष्ट्रिय परिचयपत्रको विवरण प्रविष्ट गर्नेसम्बन्धी सेवा गाउँ घरमा पुऱ्याएर अदानचुली गाउँपालिकावासीको घरदैलोमा सहज सेवा प्रदान गर्न शिविर सुरु गरिएको हो।
सामाजिक सुरक्षा भत्ता लिन र बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि अहिले घरआँगनमै पुगेर राष्ट्रिय परिचयपत्र कार्य जारी गर्दा पालिकाका ज्येष्ठ नागरिकसमेत खुसी भएको स्थानीय ज्येष्ठ नागरिक लोते भण्डारीले बताए।
आजको गोरखापत्रबाट
प्रकाशित: ८ आश्विन २०८२, बुधबार