दश गिगावाट डाटा सेन्टर बनाउन ओपनएआईमा एक खर्ब डलर लगानी गर्दै एनभिडिया

Technology Khabar ८ आश्विन २०८२, बुधबार

दश गिगावाट डाटा सेन्टर बनाउन ओपनएआईमा एक खर्ब डलर लगानी गर्दै एनभिडिया

काठमाडौं ।

एनभिडियाले ओपनएआई मा करिब १०० अर्ब डलरसम्म लगानी गर्ने भएको छ। च्याटजीपीटी निर्माणकर्ता ओपनएआईले एनभिडियाका चिप र प्रणाली प्रयोग गरेर कम्तीमा १० गीगावाट क्षमताका एआई डाटा सेन्टर बनाउने योजना सार्वजनिक गरेको हो।

हालै घोषणा गरिएको यो रणनीतिक साझेदारी विशाल स्तरको मानिएको छ। १० गीगावाट क्षमताका लागि लाखौं एनभिडिया जीपीयू आवश्यक पर्नेछ, जसले ओपनएआईका आगामी पुस्ताका मोडेलहरू सञ्चालन गर्नेछन्। प्रत्येक गीगावाट सञ्चालनमा आएसँगै एनभिडिया को लगानी क्रमशः प्रवाह गरिने बताइएको छ।

इन्ग्याजेटका अनुसार यस योजनाको पहिलो चरण २०२६ को दोस्रो छिमाहीमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ। यो एनभिडिया को Vera रुबिन प्लेटफर्ममा आधारित हुनेछ, जसलाई अहिले प्रयोग भइरहेको ब्ल्याकवेल चिपभन्दा “धेरै ठूलो प्रगतिशील कदम” हुने एनभिडिया का सीईओ जेन्सेन हुआङले बताएका छन्।

“एनभिडिया र ओपनएआईले विगत एक दशकदेखि एकअर्कालाई अघि बढाएका छन्, पहिलो डीजीएक्स सुपरकम्प्युटरदेखि च्याटजीपीटी को ब्रेकथ्रु सम्म,” हुआङले प्रेस विज्ञप्तिमा बताएका छन्।

ओपनएआईका सीईओ साम आल्टम्यानले भने, “कम्प्युट इन्फ्रास्ट्रक्चर भविष्यको अर्थतन्त्रको आधार हुनेछ। हामी एनभिडिया सँगै बनाइरहेको प्रणाली प्रयोग गरेर नयाँ एआई उपलब्धिहरू सिर्जना गर्नेछौं र तीलाई मानिस र व्यवसायहरूलाई ठूलो स्तरमा उपलब्ध गराउनेछौं।”

एनभिडियाले हालै धेरै रणनीतिक लगानीहरू गरेको छ। अमेरिकी सरकारको स्वामित्वमा आएको इन्टेलमा ५ अर्ब डलर लगानी गरेपछि कम्पनीले सोही समयमा यो कदम चालेको हो। साथै, एनफाब्रिका नामक स्टार्टअपबाट एआई प्रविधि प्रयोग गर्न करिब ९० करोड डलर खर्च गरी कम्पनीको सीईओसहित प्रमुख कर्मचारीलाई नियुक्त गरेको छ।

ओपनएआईले पनि पछिल्ला वर्षहरूमा अरू रणनीतिक साझेदारीहरू गरेको छ। यसै वर्षको गृष्म ऋतुमा ओर्याकलसँग सम्झौता गरेर २ लाखभन्दा बढी ओर्याकल चिप प्रयोग गरी ४.५ गीगावाट डाटा सेन्टर क्षमता बनाउन सहमति गरेको थियो।

यो सम्झौता स्टारगेट प्रोजेक्टको हिस्सा हो, जसमा सफ्टब्याङ्क, ओपनएआई, एनभिडिया, ओर्याकल, आर्म र माइक्रोसफ्टको रणनीतिक साझेदारीमार्फत अमेरिकामा एआई पूर्वाधारमा ५०० अर्ब डलर खर्च गर्ने योजना छ।

प्रकाशित: ८ आश्विन २०८२, बुधबार

Sajilo Visa
तपाइको प्रतिक्रिया