नासाको आर्टेमिस चन्द्र मिसनले हामीलाई मंगल ग्रहका लागि यसरी तयार पार्दैछ: वैज्ञानिकहरु

Technology Khabar २ आश्विन २०८२, बिहीबार

नासाको आर्टेमिस चन्द्र मिसनले हामीलाई मंगल ग्रहका लागि यसरी तयार पार्दैछ: वैज्ञानिकहरु

काठमाडौं ।

नासा आगामी केही वर्षमा अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पठाउने तयारी गर्दैछ। त्यससँगै पृथ्वीबाहिर, अन्य ग्रहहरूमा — विशेषगरी मंगल ग्रहमा — कसरी बस्ने र सञ्चालन गर्ने भन्नेबारे पनि एजेन्सीले सोचिरहेको छ।

नासाका प्रमुख अन्वेषण वैज्ञानिक तथा ग्रह भूगर्भशास्त्री याकब ब्लिचरले सेप्टेम्बर १० मा आयोजित भर्चुअल आर्टेमिस–४ ल्याण्डिङ साइट विज्ञान कार्यशालामा यसबारे बताएका हुन्।

उनको भनाइअनुसार, अपोलो कार्यक्रमअन्तर्गत १९६० र ७० को दशकमा भएका छोटो दुई–तीन दिनका चन्द्रमा भ्रमणभन्दा आर्टेमिस कार्यक्रम निकै फरक दिशामा अघि बढ्दैछ। ब्लिचरले भने, “हामीले अपोलो कार्यक्रमबाट धेरै सिकेका छौं, तर यसपटक हाम्रो लक्ष्य पृथ्वीबाहिर कसरी बाँच्ने भन्ने कुरा सिक्नु हो।”

कार्यशालामा वैज्ञानिक तथा सरोकारवालासँग सम्भावित अवतरण स्थल छनोटमा वैज्ञानिक प्राथमिकता के–के हुन सक्छ भन्नेबारे सुझाव मागिएको थियो। ग्रहको विकासक्रम बुझ्ने, चन्द्रमाको धुलो वा रेजोलिथलाई असर गर्ने प्रक्रिया अध्ययन गर्ने, सूर्य तथा भौतिक विज्ञानसम्बन्धी उद्देश्यहरू पनि विचाराधीन छन्।

गत दशकमा वैज्ञानिकहरूले दक्षिण ध्रुव–एइकेन बेसिनबारे अझ बढी बुझाइ पाएका छन्, जहाँ आर्टेमिस अन्तरिक्ष यात्री अवतरण गर्नेछन्। २०१३ र २०२३ का ग्रह विज्ञान दशक सर्वेक्षणमा पनि यस क्षेत्रलाई प्राथमिकता दिइएको थियो।

आर्टेमिस–४ मिशन सन् २०२८ भन्दा अघि नउड्ने नासाको तालिका छ, तर यसअघि हुने अन्य मिशनको प्रगतिमा पनि निर्भर हुनेछ। आर्टेमिस–२ मिशन, जसले चन्द्रमाको परिक्रमा गर्नेछ, २०२६ अप्रिलमा प्रक्षेपण गर्ने तयारीमा छ।

आर्टेमिस–४ अन्तरिक्ष यात्रीले चन्द्रमामा ६ दिन बिताउनेछन्। यस अवधिमा उनीहरूले चन्द्रमाको माटो नमुना पृथ्वीमा ल्याउने, उपकरण र आफ्नै अवलोकनमार्फत तथ्याङ्क सङ्कलन गर्ने, र अधिकतम दुई किलोमिटर टाढासम्म चार वटा स्पेसवाक गर्ने कार्यक्रम छ।

अवतरण स्थल दक्षिण ध्रुव क्षेत्रमा हुनेछ, जहाँ बरफ तथा अन्य खनिज उपलब्ध हुने सम्भावना छ। यी स्रोतहरू भविष्यका लामो अवधिका यात्राका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

स्पेस डटकमका अनुसार ब्लिचरले चन्द्रमा मिशनलाई दीर्घकालीन बनाउन आवश्यक पूर्वाधार मात्र होइन, निजी क्षेत्रलाई सहभागी गराउने प्रोत्साहन पनि आवश्यक रहेको बताए। उनका अनुसार, महँगो र जटिल हुने भएकाले नासा अमेरिकी निजी कम्पनीहरूसँगै अन्तर्राष्ट्रिय सहकार्यमा पनि जोड दिनेछ।

“लामो समयसम्म, सम्भव भए स्थायी रूपमा चन्द्रमामा उपस्थिति कायम गर्न हामीले के राख्नुपर्छ, कसरी साझेदारीलाई प्रोत्साहन दिन सकिन्छ र चन्द्रमामा आर्थिक गतिविधि कसरी विकसित गर्न सकिन्छ भनेर हामी बुझ्न खोज्दैछौं,” उनले भने।

आर्टेमिस–१ ले २०२२ मा बिना मानवरहित जहाजमार्फत चन्द्रमा वरिपरि उडान गरिसकेको छ। आर्टेमिस–२ मा चार अन्तरिक्ष यात्री — नासाका रिड विसेमान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानाडियन अन्तरिक्ष एजेन्सीका जेरमी ह्यान्सन — चन्द्रमा वरिपरि उड्नेछन्।

त्यसपछि आर्टेमिस–३ मिशनले अवतरण गर्ने लक्ष्य राखेको छ, जसको तालिका २०२७ मा छ, तर यो स्पेसएक्सको स्टारशिप ह्युमन ल्याण्डिङ सिस्टम तयार हुनेमा निर्भर छ। आर्टेमिस–४ त्यसपछिको मिशन हुनेछ।

प्रकाशित: २ आश्विन २०८२, बिहीबार

Sajilo Visa
तपाइको प्रतिक्रिया