डाटा सेन्टर सुरक्षित, दूरसञ्चार तथा सञ्चारमाध्यमहरुमा भएको क्षतिको विवरण संकलन गरिँदै

Technology Khabar ३० भाद्र २०८२, सोमबार

डाटा सेन्टर सुरक्षित, दूरसञ्चार तथा  सञ्चारमाध्यमहरुमा भएको क्षतिको विवरण संकलन गरिँदै

काठमाडौं ।

गत हप्ता भएको जेन जी आन्दोलन तथा प्रदर्शनका क्रममा काठमाडौं उपत्यका, मन्त्रालयहरु, सरकारी, निजी तथा व्यापारिक सार्वजनिक सम्पत्तिमा आगजनी तथा लुटपाट भएको छ।

प्रदर्शनका क्रममा सिंहदरबार भित्र रहेका अधिकांश मन्त्रालय तथा सरकारी भवनहरु, त्यहाँ राखिएका गाडीहरुलगायतमा गरिएको आगजनीबाट देशलाई अर्बौै रुपैयाँको क्षति भएको छ।

सर्वोच्च अदालत, विशेष अदालत तथा संसद भवन लगायतका महत्वपूर्ण दस्तावेज रहेका सरकारी कार्यालयहरु तोडफोड र आगजनीबाट बर्सौंदेखिजोगाएर राखिएका मिसिल तथा प्रमाणहरु नष्ट भएका छन्।

सिंहदरबारभित्रका भवन तथा भौतिक सम्पत्ति जलिरहँदा सबैको एउटै प्रार्थना थियो-कसैगरी त्यहाँ रहेको सरकारी डाटा सेन्टर जोगिओस्। भौतिक रुपमा रहेका दस्तावेजहरु जलेर खरानी भए पनि देश र जनतासँग सम्बन्धित सबैखाले डाटा सुरक्षित रहेमा फेरि सबै कुराहरु यथास्थितिमा ल्याउन सकिन्छ भन्ने सबैमा आशा थियो।

सबैको अपेक्षा अनुरुप नै सिंहदरबारभित्र रहेको सरकारी एकीकृत डाटा केन्द्र अर्थात् जीआईडीसीको भवनमा आगजनी नभएको र देशको सबै सूचना सुरक्षित रहेको खबर आयो जुन निकै सुखद् रहेको थियो।

नजिकै रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि आगजनी हुन पाएको थिएन। अन्य भवनहरुका तुलनामा सञ्चार मन्त्रालयमा नगण्य मात्र भौतिक क्षति भएको थियो। ‘अन्य कार्यालयको तुलनामा मन्त्रालयमा नगण्य मात्र क्षति भएको छ’, मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले टेक्नोलोजीखबरलाई बताए।

उनका अनुसार मन्त्रालयअन्तर्गतका दूरसञ्चार क्षेत्र र हुलाकमा पनि धेरै क्षति पुगेको छ तर औपचारिक तथ्याङ्क भने उपलब्ध भइसकेको छैन।

‘हामीले हुलाक, दूरसञ्चार तथा देशभरका एफएमलगायतका सञ्चारमाध्यममा के कति क्षति भएको छ त्यसबारे विवरण उपलब्ध गराउन पत्राचार गरिसकिएको छ’, उनले थपे। उनका अनुसार जहाँ जे क्षति भए पनि नेपालकै क्षति भएका कारण सञ्चार तथा सूचना विभागमार्फत् सरकारी मात्र नभई निजी सञ्चारमाध्यमहरुलाई समेत पत्राचार गरिएको हो।

‘मन्त्रालयको भने गाडीहरुको शिशा फुटाइएको छ, मन्त्रीज्यूको कक्षमा रहेको टेलिभिजन फुटाइएको छ र सोफाहरु काटिएको छ। त्यसबाहेक इलेक्ट्रोनिक सामान, कम्प्युटरलगायत तथा डाटा वा नेटवर्कमा क्षति नभएको पाइएको छ’, उनले भने।

उनले सरकारी एकीकृत डाटा केन्द्रमा पनि क्षति वा आगजनी नभएको र सबै भौतिक सम्पत्ति तथा सर्भरलगायत सबै महत्वपूर्ण रहेको सुनाउँदै उनले डाटा सेन्टरमा केही भइदिएको भए देशकै सूचना र विवरण तहस नहस हुन्थ्यो भन्दै त्यस्तो केही नभएको बताए।

मन्त्रालयमा ल्याइएका इन्टरनेटका तारहरु चुँडिएका वा जलेका कारण इन्टरनेट भने नचलेको र त्यो मर्मतको काम भइरहेको प्रवक्ता ठाकुरको भनाई छ।

प्रकाशित: ३० भाद्र २०८२, सोमबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार