Technology Khabar २९ भाद्र २०८२, आईतवार
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुक स्टाटसमार्फत पार्टी परित्यागको जानकारी दिँदै आक्रोश पोखिन्।
श्रेष्ठले स्टाटसमा लेखेकी छन्, “अब खुल्ला रूपमा आक्रमण गर्ने हो भने सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला। मैले पार्टी छाडेँ।”
पार्टीभित्र पछिल्लो समय देखिएको मतभेद र असन्तुष्टिकै कारण उनले यस्तो निर्णय लिएको बताइएको छ। श्रेष्ठले नेतृत्वप्रति असन्तोष व्यक्त गर्दै पार्टीबाट अलग भएको प्रस्ट संकेत गरेकी छन्।
सुमना श्रेष्ठ सचिवालयको पोस्टमा भनिएको छ, ‘ कहिलै गल्ति नस्विकार्ने। गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने। जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ। तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो। यो स्विकार्य छैन ।
अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। I QUIT. मैले पार्टी छोडेँ।
कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस्। आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्।‘
प्रकाशित: २९ भाद्र २०८२, आईतवार