सूर्यमा विष्फोट हुने सौर्य ज्वालाको तापक्रम ६ करोड डिग्री सेल्सियससम्म पुग्ने, हालसम्म अनुमान गरेभन्दा निक्कै गुणा धेरै

Technology Khabar २८ भाद्र २०८२, शनिबार

सूर्यमा विष्फोट हुने सौर्य ज्वालाको तापक्रम ६ करोड डिग्री सेल्सियससम्म पुग्ने, हालसम्म अनुमान गरेभन्दा निक्कै गुणा धेरै
सांकेतिक तस्विर

काठमाडौं ।

नयाँ अनुसन्धानका अनुसार सूर्यका ज्वालामुखी जस्तो तात्तिएका फ्लेयर अर्थात् सौर्य ज्वालाको तापक्रम वैज्ञानिकहरूले हालसम्म अनुमान गरेकोभन्दा निक्कै धेरै भएको पाइएको छ। यी फ्लेयरले कणहरूलाई अघिल्लो अनुमानभन्दा ६ गुणा बढी तापमानमा पुर्याएको देखिएको छ।

सौर्य फ्लेयर सूर्यको वायुमण्डलमा हुने विशाल विस्फोट हुन् जसले शक्तिशाली विकिरणको बर्सावट निकाल्छन्। यी घटनाले उपग्रहमा असर पार्ने, रेडियो सिग्नल बिगार्ने र अन्तरिक्षयात्रीका लागि जोखिमपूर्ण बन्ने गर्छन्।

स्पस डटकमका अनुसार स्कटल्याण्डस्थित युनिभर्सिटी अफ सेन्ट एन्ड्र्युजका अलेक्जान्डर रस्सेलको नेतृत्वमा भएको अध्ययनले सूर्यको वायुमण्डलमा फ्लेयरका कारण तातिएका कणहरू ६ करोड डिग्री सेल्सियस (१० करोड ८ लाख डिग्री फारेनहाइट)सम्म पुग्ने देखाएको छ। यसअघि अनुमान गरिँदा यो तापक्रम १ करोडदेखि ४ करोड डिग्री सेल्सियस (१८ लाखदेखि ७२ लाख डिग्री फारेनहाइट) बीच हुने भनिन्थ्यो।

रस्सेलका अनुसार, “यो एक प्रकारको सार्वभौमिक नियम हो।” यस प्रभावलाई पृथ्वी नजिकको अन्तरिक्ष, सौर्य हावा र विभिन्न सिमुलेशनहरूमा देखिइसकेको भए पनि पहिले यसलाई सौर्य फ्लेयरसँग जोडिएको थिएन।

१९७० को दशकदेखि खगोलविद्हरू सौर्य फ्लेयरबाट आउने प्रकाशको अचम्मलाग्दो विशेषताबारे अलमलमा थिए। शक्तिशाली दूरबीन प्रयोग गरेर जब त्यसलाई रंगमा विभाजन गरिन्छ, विभिन्न तत्वका “स्पेक्ट्रल लाइन” सैद्धान्तिक पूर्वानुमानभन्दा धेरै फराकिलो वा धमिलो देखिन्थ्यो।

विगत दशकौँसम्म वैज्ञानिकहरूले यसलाई सूर्यको प्लाज्मामा हुने अशान्तिकै कारण ठानेका थिए। उम्लिरहेको पानी जस्तै चार्ज भएका कणहरूको अनियमित गति प्रकाशलाई फरक–फरक दिशामा धकेल्छ भन्ने मानिएको थियो। तर प्रमाणले पूरै मेल खाँदैनथ्यो। कतिपय अवस्थामा अशान्ति बन्नुअघि नै लाइन फराकिलो देखिन्थ्यो र धेरैजसो अवस्थामा ती लाइन अत्यधिक सममित देखिन्थे।

नयाँ अध्ययनले सरल व्याख्या दिएको छ—फ्लेयरले प्रभावित गरेका कणहरू अघिसम्म सोचिएभन्दा धेरै तात्तिएका हुन्छन्।

चुम्बकीय पुनर्संयोजन (फ्लेयरलाई शक्ति दिने चुम्बकीय क्षेत्र रेखाहरूको टुटफुट र पुनःव्यवस्था) को प्रयोग र सिमुलेशन गरेर अनुसन्धानकर्ताहरूले इलेक्ट्रोनहरू १ करोडदेखि १.५ करोड डिग्री सेल्सियससम्म पुग्ने देखे भने आयनहरू ६ करोड डिग्री सेल्सियसभन्दा माथि पुग्ने देखे। इलेक्ट्रोन र आयनबीच तापक्रम साटासाट हुन केही मिनेट लाग्ने भएकाले यो अन्तरले फ्लेयरको व्यवहारलाई प्रभावित गर्छ।

यति चरम तापक्रममा आयनहरू यति तीव्र गतिमा घुम्छन् कि त्यसको प्रभावले स्पेक्ट्रल लाइन स्वाभाविक रूपमा फराकिलो देखिन्छ। यसले करिब आधा शताब्दी पुरानो खगोलभौतिकीय रहस्यलाई समाधान गर्न मद्दत गर्ने सम्भावना देखाएको रस्सेलले बताए।

यस खोजको व्यावहारिक महत्व पनि छ। यदि वैज्ञानिकहरूले फ्लेयर आयनमा सञ्चित ऊर्जा कम आँकिरहेका थिए भने अन्तरिक्ष मौसमको पूर्वानुमान पनि फेरबदल गर्नुपर्ने हुन्छ। सुधारिएको मोडलले उपग्रह सञ्चालक, एयरलाइन्स र अन्तरिक्ष एजेन्सीलाई खतरनाक सौर्य घटनाका लागि अझै सचेत र तयारी गर्न सहयोग गर्ने वैज्ञानिकहरूको भनाइ छ।

अनुसन्धानले नयाँ पुस्ताका सौर्य मोडल आवश्यक पर्ने पनि देखाएको छ, जसले आयन र इलेक्ट्रोनलाई फरक–फरक व्यवहारमा हेर्छन्। यस्ता “बहु–तापक्रम” मोडलहरू पृथ्वीको चुम्बकीय क्षेत्रमा प्रयोग भइरहेका भए पनि सूर्यमा भने कमै प्रयोग भएका छन्।

यो अनुसन्धान यसै महिना द एस्ट्रोफिजिकल जर्नल लेटर्समा प्रकाशित भएको हो।

प्रकाशित: २८ भाद्र २०८२, शनिबार

Sajilo Visa
तपाइको प्रतिक्रिया