Technology Khabar २६ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
स्पेसएक्सले सेप्टेम्बर १० तारिखमा क्यालिफोर्नियाबाट २१ उपग्रह कक्षमा प्रक्षेपण गर्दै अमेरिकी सेनाका लागि उन्नत नयाँ कन्स्टेलेशन निर्माणको सुरुवात गरेको छ।
फाल्कन ९ रकेट स्थानीय समय अनुसार बिहान ७:१२ बजे (१०:१२ एएम ईडीटी/१४१२ जीएमटी) भ्यान्डेनबर्ग स्पेस फोर्स बेसबाट उडान भर्यो। यसले स्पेस डेभलपमेन्ट एजेन्सी (एसडीए) को पहिलो “ट्राञ्च१ ट्रान्सपोर्ट लेयर ” (टी१टीएल) मिशनको शुभारम्भ गरेको हो।
टी१टीएल नेटवर्क अन्ततः लो अर्थ अर्बिट (एलईओ) मा १२६ उपग्रह रहनेछ, जसले “विश्वव्यापी सञ्चार पहुँच दिने र सेनाका मिशनलाई समर्थन गर्न क्षेत्रीय रूपमा सुरक्षित इनक्रिप्टेड कनेक्टिभिटी उपलब्ध गराउने” एसडीए ले जनाएको छ।
सन् २०१९ को मार्चमा स्थापना भएको एसडीए लाई अमेरिकी सेनाका लागि छिटो, लागत-प्रभावकारी र उच्च क्षमतायुक्त स्पेस एसेट उपलब्ध गराउने जिम्मेवारी दिइएको हो। एसडीए को वेबसाइटमा यसलाई “स्पेस अधिग्रहणका लागि रक्षा मन्त्रालयको सकारात्मक परिवर्तक” भनेर वर्णन गरिएको छ।
स्पेसएक्सका अनुसार यस अन्तर्गत प्रस्तावित प्रोलिफरेटेड वाफाइटर स्पेस आर्किटेक्चर (पीडब्लूएसए) मा सयौं साना उपग्रह रहनेछन्, जसलाई अप्टिकल सञ्चारमार्फत आपसमा जडान गरिनेछ।
यो कन्स्टेलेशन ब्याटल म्यानेजमेन्ट, कस्टडी, डेटरेन्स, नेभिगेशन, मिसाइल ट्र्याकिङ, ट्रान्सपोर्ट र सपोर्ट गरी सात तहमा विभाजित हुनेछ। एसडीएको योजनाअनुसार, हरेक दुई वर्षमा नयाँ “ट्राञ्च” मार्फत उपग्रह थपेर पीडब्लूएसए लाई अपडेट गरिनेछ।
आजको प्रक्षेपणसँगै ट्रान्सपोर्ट तहको पहिलो चरण (फर्स्ट ट्राञ्च) को संयोजन सुरु भएको छ। प्रक्षेपण गरिएका २१ उपग्रह डेन्भरस्थित यर्क स्पेस सिस्टम्सले निर्माण गरेका हुन्। एसडीए ले यो चरणका लागि यर्क, नर्थरोप ग्रुमन र लकहिड मार्टिनसँग ४२–४२ वटा उपग्रह निर्माणको सम्झौता गरेको स्पेस डटकमले उल्लेद गरेको छ।
आज प्रक्षेपण गरिएको फाल्कन ९ को पहिलो चरण करिब ८.५ मिनेटपछि समुद्रमा अवस्थित स्पेसएक्सको ड्रोन जहाज “अफ कोर्स आई स्टिल लभ यू” मा सुरक्षित अवतरण भयो। यो बूस्टर (बी१०९३) को छैटौं प्रक्षेपण तथा अवतरण थियो।
यसैबीच, रकेटको माथिल्लो चरणले २१ उपग्रहलाई एलईओ तर्फ लैजाँदैछ। तर यी उपग्रहहरू कहिले र कहाँ तैनाथ हुने भन्ने विवरण खुलाइएको छैन। स्पेसएक्सको मिशन विवरणमा पनि यो जानकारी छैन, र एसडीए ले फ्लाइटको क्रममा पेलोड वा दोस्रो चरणको दृश्य प्रसारण गर्न अनुमति दिएको थिएन।
प्रकाशित: २६ भाद्र २०८२, बिहीबार