काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्र भित्र र ललितपुरमा अनिश्चितकालिन कर्फ्यू

Technology Khabar २४ भाद्र २०८२, मंगलवार

काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्र भित्र र ललितपुरमा अनिश्चितकालिन कर्फ्यू
जेनजीले सोमबार काठमाडौैमा गरेको प्रदर्शन। फाइल तस्बिर

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज उपत्यकाको चक्रपथ क्षेत्र भित्र कर्फ्यू लगाएको छ। यसअघि सोमबार राति १० बजेसम्मका लागि काठमाडौँका विभिन्न स्थानमा लगाइएको कर्फ्यू मङ्गलबार बिहान ५ः०० बजेसम्म थप भएको थियो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको आदेशमा मङ्गलबार आज बिहान ८ः३० बजेदेखि काठमाडौँको रिङ्ग रोड चक्रपथभरि कर्फ्यू लगाइएको हो।

काठमाडौँ महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू–भागमा कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।

यसैगरी ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ७ः०० देखि राति १२ः०० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेका हुन्।

कफ्र्यू आदेश जारी भएका क्षेत्रहरुमा भैँसेपाटी क्षेत्र (वडा नं ४, १८ र २५)ः पूर्वमा भैँसेपाटीबाट बुङ्गमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा गायत्री पेट्रोलपम्प भन्दा तलको विष्णुदेवी मन्दिर, दक्षिणमा इटनी जाने ओह्रालोसम्म।

सानेपा क्षेत्र (वडा नं २) पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिरसम्मको पक्की सडक, पश्चिममा बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरमा बल्खु पुलदेखि सानेपा चोकसम्मको चक्रपथ सर्भिस लेन, दक्षिणमा इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडकसम्म।

च्यासल क्षेत्र (वडा नं ९)ः पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रङ्गशाला, उत्तरमा मनोहरा खोला, दक्षिणमा मल पोखरी जाने बाटोसम्म।

प्रमुख जिल्ला अधिकारी घिमिरेले शान्ति, सुरक्षा कायम गर्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न कफ्र्यू आदेश जारी गरिएको जनाएका छन्।

जेनजीले नेपालमा देखिएको भ्रष्ट्राचार अराजकताको विरुद्धमा हिजोदेखि प्रदर्शन गरेका छन्। उक्त प्रदर्शनमा १८ भन्दा धेरैको प्रहरीको गोली लागेर मृत्यु भएको छ भने ३५० भन्दा धेरै घाइते छन्।

प्रकाशित: २४ भाद्र २०८२, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार