टेस्लाको अमेरिकी बजार हिस्सेदारी अगस्तमा आठ वर्षयताकै न्यूनतम स्तरमा झर्यो

  • Technology Khabar | २४ भाद्र २०८२, मंगलवार
टेस्लाको अमेरिकी बजार हिस्सेदारी अगस्तमा आठ वर्षयताकै न्यूनतम स्तरमा झर्यो

काठमाडौं ।

टेस्लाको अमेरिकी बजार हिस्सेदारी अगस्तमा करिब आठ वर्षयताकै न्यूनतम स्तरमा झरेको छ। अनुसन्धान संस्था कोक्स अटोमोटिभले रोयटर्सलाई उपलब्ध गराएको तथ्यांकअनुसार अर्बपति ईलन मस्कको कम्पनीले उपलब्ध गराएको पुरानो मोडलभन्दा प्रतिस्पर्धी कम्पनीहरूले ल्याएका नयाँ विद्युतीय गाडी रोज्ने उपभोक्ता बढेसँगै यस्तो गिरावट देखिएको हो।

यो गिरावट अटोमोबाइल कम्पनीहरूले विद्युतीय गाडीमा प्रोत्साहन बढाइरहेको कठिन समयमा आएको हो। विश्लेषकहरूको अनुमान अनुसार अमेरिका भित्र सेप्टेम्बरसम्म विद्युतीय गाडी बिक्री बढ्नेछ, तर महिनाको अन्त्यमा संघीय कर छुट सकिएपछि बिक्री फेरि घट्ने र टेस्ला तथा अन्य कम्पनीहरूलाई थप आर्थिक दबाब पर्ने देखिन्छ।

एक समय अमेरिकी ईभी बजारको ८० प्रतिशतभन्दा बढी हिस्सेदारी ओगटेको टेस्लाको बिक्री अगस्तमा कुल ईभी बिक्रीको ३८ प्रतिशतमा झरेको छ।

अक्टोबर २०१७ यता पहिलो पटक यसको बजार हिस्सेदारी ४० प्रतिशतभन्दा तल गएको हो। त्यतिबेला टेस्लाले आफ्नो पहिलो मास-मार्केट कार मोडल ३ को उत्पादन बढाइरहेको थियो।

अन्य कम्पनीहरूले नयाँ ईभी मोडल ल्याइरहेका बेला टेस्ला भने रोबोट्याक्सी र मानवरूपी रोबोट निर्माणमा केन्द्रित भएको छ। यसक्रममा सस्तो ईभी मोडल ल्याउने योजना ढिलाइ वा रद्द गरिएको छ।

टेस्लाको करिब १ ट्रिलियन डलर मूल्याङ्कन यिनै दाबीमा आधारित रहेको बताइन्छ। गत शुक्रबार कम्पनीको बोर्डले मस्कलाई अभूतपूर्व १ ट्रिलियन डलर बराबरको तलब प्याकेज प्रस्ताव गरेको छ, जसमा कम्पनीको मूल्य आगामी १० वर्षमा ८.५ ट्रिलियन डलरसम्म पुग्ने लक्ष्य राखिएको छ।

हालका लागि भने टेस्लाको मुख्य कमाइ गाडी व्यवसायमै निर्भर छ। कम्पनीले पछिल्लो पटक २०२३ मा साइबरट्रक पिकअप बजारमा ल्याएको थियो, तर यसले मोडल ३ वा मोडल वाईजस्तो सफलता पाउन सकेन। विश्वकै सबैभन्दा बढी बिक्री भएको कार मोडल वाईलाई टेस्लाले नयाँ रूप दिँदा पनि अपेक्षित सफलता प्राप्त भएन, र कम्पनी लगातार दोस्रो वर्ष बिक्री घट्ने दिशामा रहेको छ।

कोक्स अटोमोटिभकी उद्योग विश्लेषण निर्देशक स्टेफनी भाल्डेज स्ट्रिटीले रोयटर्ससँग भनेकी छन्, “टेस्ला आफूलाई रोबोटिक्स र एआई कम्पनीका रूपमा प्रस्तुत गर्न खोजिरहेको छ। तर जब तपाईं गाडी कम्पनी हुनुहुन्छ, नयाँ उत्पादन नल्याउँदा तपाईंको बजार हिस्सेदारी घट्न थाल्छ।”

कोक्सको तथ्यांकअनुसार जुलाईमा टेस्लाको बजार हिस्सेदारी ४८.७ प्रतिशतबाट घटेर ४२ प्रतिशतमा झरेको थियो। यो गिरावट मार्च २०२१ यताकै ठूलो थियो, जब फोर्डले आफ्नो मस्टाङ म्याक-ई ईभी ल्याएको थियो।

प्रकाशित: २४ भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...