Technology Khabar २३ भाद्र २०८२, सोमबार
काठमाडौं ।
नेपाली कांग्रेसले २६ वटा सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णयका सन्दर्भमा मध्यमार्गी उपाय खोज्न माग गरेको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकले सामाजिक सञ्जाल बन्द भएपछि उत्पन्न परिस्थिति सहज बनाउन तत्काल उपयुक्त उपाय खोज्न माग गरेको हो।
कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भने, “यसबारे कांग्रेसको गम्भीर ध्यानाकर्षण
भएको छ। मध्यमार्गी उपाय निकाल्नु पर्छ। सेवाप्रदायक पनि देशको कानुनी दायरामा आउनु पर्छ। सेवाग्राहीलाई तत्कालै उत्पन्न असहजलाई सहज बनाउन सरकार अग्रसर हुनु पर्छ।”
उनले बैठकमा सरकारले सामाजिक सञ्जाल निष्क्रिय गरेको सन्दर्भमा छलफल भएको, कुनै पनि सेवाप्रदायकले जुन देशमा सेवा प्रदान गर्नुपर्ने र त्यो देशको सार्वभौमिकता, स्वाधीनता, कानुनबमोजिम चल्नुपर्ने निष्कर्ष आएको बताए।
उनले भने, “सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउनु पर्छ। ल्याउने प्रक्रिया विगतमा भएन। अहिले गर्दा जनतामाझ आकस्मिक रूपमा असहज भयो। यस सन्दर्भमा हामीले छलफल गरेका छौं। सरकारले चाँडै एउटा निष्कर्ष दिनु पर्छ।”
सरकारले फेसबुक, म्यासेन्जर, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय गरेको छ। सरकारले सामाजिक सञ्जाल सञ्चालकलाई सूचीकरणका लागि आउन पनि भनेको छ।
कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णयपछि कांग्रेसले मनाङ प्रदेश सभा क्षेत्र नं. २ मा कात्तिक १७ गते हुने उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ।
साथै बैठकले निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेदवारलाई पत्र दिने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई प्रदान गरेको छ। नेता विश्वप्रकाश शर्माका अनुसार कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई मनाङको उपनिर्वाचन प्रयोजनका लागि दल गर्दा गर्ने अख्तियारी दिइएको थियो।
मनाङ प्रदेश सभा क्षेत्र नं. २ बाट निर्वाचित प्रदेश सभा सदस्य राजीव गुरुङ पदमुक्त भएपछि उपनिर्वाचन हुन लागेको हो।
आजको गोरखापत्रबाट
प्रकाशित: २३ भाद्र २०८२, सोमबार