Technology Khabar २२ भाद्र २०८२, आईतवार
काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ता विधि र कानुनबारे स्पष्ट बुझाई राख्छन् भन्नेमा आशावादी भएको घुमाउरो चेतावनी दिएका छन्।
सोमबार सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेन्ड चलेको र जेनजी युवाहरूले सडक आन्दोलनको घोषणा गरेको प्रसंगमा प्रधानमन्त्री ओलीले टिप्पणी गरे, “कुनै पनि व्यक्तिले विधि वा कानुन उल्लंघन गर्न पाउँदैन।”
ललितपुरको गोदावरीमा सम्पन्न एमालेको दोस्रो विधान महाधिवेशन समापन गर्दै उनले नयाँ पुस्ताले राष्ट्रियता र कानुनबारे सचेत दृष्टिकोण राख्ने अपेक्षा गरेको बताए।
प्रधानमन्त्री ओलीले आफू बन्द–हड्ताल वा प्रतिबन्धको पक्षधर नभएको दावी गर्दै हालको सामाजिक सञ्जाल बन्दबारे सरकारको कदमको बचाउ गरे।
उनका अनुसार, “सरकारको उद्देश्य सामाजिक सञ्जाल बन्द गर्नु नभई दर्ता प्रक्रियामा ल्याउनु हो।”
यसअघि सरकारले नेपालमा दर्ता नभएका फेसबुकसहितका २६ वटा सामाजिक सञ्जालमाथि सेवा प्रदायकमार्फत पहुँच रोक्ने निर्देशन दिएको थियो। दर्ताका लागि तोकिएको एक साताको म्याद सकिएपछि ती सञ्जाल बन्द गर्ने निर्णय भएको हो। सो निर्णयको विरोधमा जेनजी पुस्ताले सडक आन्दोलन गर्ने घोषणा गरेका छन्।
प्रकाशित: २२ भाद्र २०८२, आईतवार