बिहीबार राति १२ बजेभित्र जसरी पनि सामाजिक सञ्जालहरु बन्द गराउन सञ्चारमन्त्री र विज्ञ सल्लाहकारले दिएका थिए दबाब

Technology Khabar २० भाद्र २०८२, शुक्रबार

काठमाडौं ।

सरकारले मेटाको फेसबुकलगायत करिब २६ ओटा सामाजिक सञ्जालहरु क्रमश: निष्क्रिय गराउने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकले सूचीकरण हुन नआएका यी विभिन्न २६ सामाजिक सञ्जाललाई निष्क्रिय बनाउने निर्णय गरेसँगै सूचना तथा सञ्चार मन्त्रालयमा बिहिबार बसेको बैठकले सो निर्णय गरेको थियो।

यसमा मेटा र एक्स जस्ता ठूला सामाजिक सञ्जालहरुसहित २६ ओटा विभिन्न अन्य प्लेटफर्महरु रहेका छन् भने मेसेन्जर एपहरु समेत बन्द भएका छन्।

उक्त निर्णय कार्यान्वयनका लागि सरकारले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमार्फत दूरसञ्चार सेवा प्रदायकहरुलाई निर्देशन पत्र नै जारी गरेको थियो। सोही पत्रको आधारमा सेवा प्रदायकहरु सबैले क्रमशः सेवा बन्द गराउनुपर्ने हुन्छ।

नेपाल टेलिकम, एनसेल र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले नियामकको निर्देशनअनुसार नेपालमा सूचीकरण नभई नेपालभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गराउने जानकारी दिएका थिए।

उक्त जानकारी दिँदै उनीहरुले क्रमशः सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गराउँदै गरेको समयमै सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ र उनका आईटी विज्ञ सल्लाहकार डा. शालिग्राम पराजुलीले फोन नै गरेर तत्काल बन्द गराउन दबाब दिएको खुलासा भएको छ।

उनीहरुले नेपाल टेलिकम, एनसेल र आइस्पानअन्तरगतका कम्पनी सञचालकहरुलाई फोन गरेरै तत्काल सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गराउन चेतावनी दिएका स्रोतहरुले बताएका छन्।

उनीहरुले बिहिबार मध्य रात बाह्र बजेसम्म जसरी पनि बन्द गर्न भनेको त्यस बारेमा जानकार फरक फरक तीन स्रोतहरुले टेक्नोलोजीखबरलाई बताए।

“पहिले विज्ञ सल्लाहकारले फोन गरेका र त्यसपछि सञ्चारमन्त्रीले नै फोन गरेका थिए,” त्यस बारेमा जानकार स्रोतले भन्यो, “जसरी पनि १२ बजेभित्र बन्द गर्न दबाब दिएका थिए। र हामीलाई पनि सोहीअनुसार गर्न भनिएको थियो”

अझ विज्ञ सल्लाहकार पराजुलीले फोन गरेरै भनेअनुसार बन्द नगरे राम्रो नहुने बताएको अर्को स्रोतको दावी छ।

“उनले सरकारको निर्देशनअनुसार काम नगरे राम्रो नहुने चेतावनी दिएका थिए,” सो बारेमा जानकार दोस्रो स्रोतले बतायो।

यस्तै अर्को स्रोतले समेत नेपाल टेलिकम, एनसेलसहितका सेवा प्रदायकहरुका अधिकारीहरुलाई समेत व्यक्तिगत फोन गरेरै बन्द गर्न दबाब दिएको दावी गरेको छ।

“केही समयअघि मन्त्रीका विज्ञ सल्लाहकारले फोन गर्नुभएको र त्यसपछि मन्त्रीले फोन गर्नुभएको बुझिएको छ,” जानकार तेस्रो स्रोतले बिहिबार मध्यरातमै टेक्नोलोजीखबरसँग भनेको थियो, “आज (बिहीबार) राति १२ बजेभित्र फेसबुकको यूआरएल भएपनि बन्द गर्न भनिएको छ।”

सोहीअनुसार कम्पनीहरुले हालको लागि बन्द गर्ने सूचीमा रहेका प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूको यूआरएलमा पहुँच रोकेका थिए।

यस्तै, यस बारेमा जानकार एक प्राविधिकले एकैपटक २६ ओटा सामाजिक सञ्जाल बन्द गर्न ठूलो जनशक्ति र व्यापक प्राविधिक क्षमता हुनुपर्ने जानकारी दिए।

“हाम्रा सेवा प्रदायकहरुसँग एकैपटक त्यसरी बन्द गर्ने क्षमता छैन् र हुँदैन पनि,” उनले भने, “त्यसैले क्रमशः बन्द गर्दै जाने र कुनै बन्द नभएको देखिए त्यसलाई पत्ता लगाएर बन्द गर्ने हो।”

यस विषयमा सञ्चारमन्त्रीको तर्फबाट औपचारिक जानकारी लिन उनका प्रेस हेर्ने बिक्रम न्यौपानेलाई टेक्नोलोजी मिडियाले फोन सम्पर्क गरेर सोधेका थियौं, उनले बिचमै फोन काटेका थिए।

यसैगरी सञ्चार मन्त्रीका विज्ञ सल्लाहकार पराजुलीको मोबाइल नम्बरमा पटक पटक सम्पर्क गर्दा उनी निरन्तर मिटिङ्गमा रहेको जानकारी दिए। अन्तिम पटकको सम्पर्कमा भने उनी आफैंले फोन काटेका थिए।

यसमा थप विवरण आएमा अपडेट गर्नेछौं।

प्रकाशित: २० भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया