रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले डीपफेक अडियोविरुद्ध साइबर ब्यू्रोमा दिए उजुरी

  • Technology Khabar | १८ भाद्र २०८२, बुधबार
रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले डीपफेक अडियोविरुद्ध साइबर ब्यू्रोमा दिए उजुरी

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा पोस्ट गरिएको डीप फेक अडियोविरुद्ध आज नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरेका छन्।

उपसभापति डा. वाग्ले काठमाडौँ भोटाहिटी स्थित साइबर ब्युरोको कार्यालयमा आज दिउँसो उपस्थित भएर उजुरी दर्ता गराएको ब्यूरोका प्रवक्ता दिपक राज अवस्थीले जानकारी दिए।

प्रवक्ता अवस्थीले भने, ‘उहाँ आफैं आएर डीपफेक अडियोविरुद्ध छानबिनको माग गर्दै उजुरी दिनुभएको हो। हामी उजुरीमाथि आवश्यक अध्ययन गर्दैछौं।’

केही दिनयता डा. वाग्लेको फोटो र आवाज प्रयोग गरिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेको अडियो सामाग्री सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भइरहेको छ।

उनको अडियो र फोटो रहेको उक्त भाइरल सम्वाद “सिमानाको विषय उठाएर भारतसँग निहु खोज्नु मुर्खता हो – स्वर्णिम वाग्ले” भन्ने शीर्षकमा रहेको थियो जसलाई धरानका मेयर हर्क साम्पाङले पनि शेयर गरेका थिए।

यसैबारे डा. वाग्लेले आफ्नो विश्वास गर्न र भ्रममा नपर्न हिजो मङ्गलबार फेसबुकमाएउटा भिडियो सामग्री नै राखेर सबैसँग आग्रह गरेका थिए।

प्रकाशित: १८ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...